मोहन पौडेल
परासी, १ साउन । अपांगता भएका तथा अशक्त व्यक्तिहरुको सहयोगका लागि रोटरी क्लब अफ नवलपरासीले ह्विल चेयर वितरण गरेको छ । सदरमुकाम परासीस्थित बुद्धचोकमा विहीबार आयोजित कार्यक्रममा ह्वील चेयर वितरण गरिएको हो ।
रामग्राम, सुनवल नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिका भित्र बसोबास गर्ने आठ जना अपांगता तथा अशक्त व्यक्तिहरुलाई ह्विल चेयर वितरण गरिएको क्लवका अध्यक्ष सुनिल कसौधनले जानकारी दिनुभयो । “यस क्षेत्रका अपांगता तथा अशक्त भएका शारीरिक रुपमा हिँडडुल गर्न नसक्ने व्यक्तिहरुलाई सहजताका लागि हामीले ह्विल चेयर वितरण गरेका हौँ, आगामी दिनमा पनि सामाजिक सेवाका कामहरु निरन्तर रहनेछन्”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार ह्विल चेयर पाउनेमा जोखनाप्रसाद थारु,सदिक अहमद धुनिया,हेमा पटेल,अतिफ अलि,बलबहादुर कुँवर,डम्बर बहादुर चौधरी,गौरीशंकर बेलदार,मेधना लोनिया लगायत रहनुभएको छ । उहाँहरुलाई क्लवका अध्यक्ष कसौधन र संस्थापक अध्यक्ष सुमनगोपाल आचार्य लगायतले ह्विल चेयर वितरण गर्नुभएको थियो ।
प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै संस्थापक अध्यक्ष आचार्यले रोटरी क्लवको स्थापना नै सामाजिक सेवाका लागि भएको बताउनुभयो । उहाँले हालसम्म क्लवले ६० जनालाई ह्विल चेयर वितरण गरिसकेको बताउँदै आचार्यले क्लबका सदस्यहरुको सहयोगबाट सेवाका कामहरु गरिरहेको बताउनुभयो । कार्यक्रममा क्लबकी इलेक्ट अध्यक्ष उर्मिला अग्रहरी, कार्यक्रम संयोजक सन्तोष गुप्ता लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।