२०८२ अषाढ २४, मंगलबार
24 खबर अपडेट

अनोमाघाट प्रबज्या स्थल घोषणा भएकोमा निजी क्षेत्रको स्वागत

२०८२ अषाढ २४, मंगलबार प्रकाशित ( घण्टा अघि) १०२ पाठक संख्या

परासी, २४ असार । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा अवस्थित अनोमाघाट(ठाडिघाट)लाई नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थलको रुपमा घोषणा गरेकोमा निजी क्षेत्रले स्वागत गरेको छ ।
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नवलपरासी उद्योग वाणिज्य संघले एक विज्ञप्ति जारी गरी सरकारले अनोमाघाटलाई आधिकारिक रुपमा भगवान् गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अर्थात अनोमा प्रबज्या स्थलको घोषणा गरिएकोमा खुशी व्यक्त गरेको हो । नेपाल पर्यटन बोर्डले गत असार १५ गते सुस्ता गाउँपालिकालाई पत्राचार गर्दै अनोमा प्रबज्या स्थल घोषणा गरिएको जानकारी गराएको थियो ।
अनोमाघाट गौतम बुद्ध पहिलोपटक भिक्षु बनेको ठाउँ हो। कपिलवस्तुबाट बुद्धत्व प्राप्तिका लागि प्रस्थान गरेका सिद्धार्थ गौतमले अनोमाघाटमा आइ केश मुण्डन गरी गेरुवस्त्र धारण गरेको बुद्धग्रन्थहरूमा उल्लेख छ। यही ठाउँबाट उहाँ ज्ञानको खोजीमा बोधगया प्रस्थान गर्नुभएको थियो ।
सिद्धार्थ गौतम युवराज त्यागेर भिक्षु भइ बुद्ध बन्ने प्रक्रियाको सुरुवात भएकाले यो ठाउँलाई नेपालको बोधगयाको रुपमा लिइन्छ। प्रबज्या स्थल घोषणासँगै अनोमाघट अब नयाँ धार्मिक पर्यटनको गन्तव्य बनेको नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अनोमाघाटमा कात्र्तिक पूर्णिमामा मेला समेत लाग्ने गर्दछ। अहिले यहाँ एउटा बुद्धको मूर्ति, शिवमन्दिर, धर्मशाला, बगैँचा र कुस्ती रंगशाला रहेको छ। नारायणी तिरमा भएकाले अनोमाघाट प्राकृतिक रुपमा पनि सुन्दर छ। यहाँबाट नरायणीको फराकिलो दृष्य देख्न सकिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस