२०८२ अषाढ २१, शनिबार
24 खबर अपडेट

परासी क्षेत्र लगानीको सुरक्षित गन्तव्य : नवलपरासी उद्योग वाणिज्य संघ

२०८२ अषाढ २१, शनिबार प्रकाशित ( घण्टा अघि) ८५ पाठक संख्या

परासी, २१असार । पश्चिम नवलपरासीको परासी क्षेत्र लगानीको सुरक्षित गन्तव्य बन्दै गएको भन्दै यहाँका व्यवसासीले बुटवलका व्यवसायीलाई लगानी गर्न आह्वान गरेका छन् ।
नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघले गरेको स्वागत तथा छलफल कार्यक्रममा नवलपरासीका उद्योगी व्यवसायीले उक्त आह्वान गरेका हुन् । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले परासी र आसपासका क्षेत्र पछिल्लो समय लगानी अवसरको सम्भावना बोकेको क्षेत्र भएकोले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
“परासी औद्योगिक वातावरण भएको क्षेत्र हो, लगानीका लागि अनूकुल छ, आउनुहोस् उद्योग स्थापना गर्नुहोस्, आवश्यक सहजीकरणका लागि हामी तयार छौँ”, उहाँले भन्नुभयो । यस क्षेत्रमा सस्तो मूल्यमै जग्गा उपलब्ध हुने भन्दै अध्यक्ष अग्रहरीले लुम्बिनी क्षेत्रबाट विस्थापित भएका उद्योगहरु धमाधम परासी क्षेत्रमा स्थानान्तरण भएर औद्योगिक क्षेत्रको रुपमा विकास भइरहेको उल्लेख गर्नुभयो ।
महेशपुर र सुनौली भन्सारको बीच भाग, नेपालकै मध्यविन्दु भएकोले कारोबार गर्न सहज रहेको,भौगोलिक सहजता, सुरक्षा लगायतका कारण परासी क्षेत्र लगानीका लागि उपयुक्त गन्तव्य बनिरहेको उहाँले बताउनुभयो । अध्यक्ष अग्रहरीले रामग्राम स्तूप, पाल्ही भगवती मन्दिर, अनोमा प्रबज्या स्थल,केरा र उखुको पकेट क्षेत्र लगायतका कारण नवलपरासी जिल्ला पर्यटनको पनि प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले एकपटक नवलपरासीको भ्रमण गर्न पनि जोड दिनुभयो ।
बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष टंकप्रसाद गैरेले दुई उद्योग वाणिज्य संघको भेटघाट तथा छलफलले व्यवसायिक सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा निजी क्षेत्रका समस्या समाधानमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराइले बुटवलका व्यवसायी नवलपरासीमा लगानी गर्न इच्छुक भएमा आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
उक्त अवसरमा नवलपरासी उद्योग वाणिज्य संघका कार्यकारी सचिव रामशंकर कुर्मी र बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदन काफ्लेले आआफ्नो संघका गतिविधिको विषयमा जानकारी गराउनुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस