मोहन पौडेल
परासी, १६ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१ सहुवाटिकरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँकी ३७ वर्षीय यमकला कोँहार र रामग्राम–७ का १८ वर्षीय बिशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो ।
लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । डिएसपी पन्तका अनुसार उनीहरुको साथबाट दुई÷दुई एमएलका १३ एम्पुल डाइजोमा,१३ एम्पुल फेनरागन र १३ एम्पुल बुप्रिनोर्फिन बरामद गरिएको छ ।
यमकलाले बिशाललाई उक्त लागूऔषध विक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।