मोहन पौडेल
परासी, १६ असार । समुदायमा पोषण सुधार गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा सञ्चालित पोषणमार्फत जीवन रुपान्तरण परियोजनाको पहिलो वर्ष सकिएको छ ।
आइडिई नेपालको आर्थिक सहयोगमा एकीकृत हातेमालो समाज नेपाल(सियान)ले जिल्लाका चार गाउँपालिकामा सञ्चालन गरिरहेको उक्त परियोजनाको आइतबार सुनवलमा पहिलो वर्षको समिक्षा गर्दै समापन गरिएको हो । कार्यक्रममा परियोजना लागू भएका चार वटै गाउँपालिकाका प्रमुखहरु त्था सरोकारावलाहरुको सहभागिता थियो ।
कृषि तथा खाद्य प्रणाली,आपूर्ति तथा साना बजार उद्योग एवं खानेपानी सरसफाइ र स्वच्छता(वास) सुधारको नतिजामा केन्द्रित यो परियोजना लागू भएको एक वर्षको अवधिमा प्रभावकारी काम गरेको सहभागिहरुले बताएका थिए ।
परियोजना अन्र्तगत सन् २०२४ को अगस्त महिनादेखि २०२५ को जुन महिना सम्म जिल्लाको सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाका २० वटा वडामा सञ्चालन गरिएका क्रियाकलापहरूको प्रगति विवरण जानकारी गराउँदै सियानका तथ्यांक अधिकृत एवं परियोजना संयोजक मीन रानाले कृषि, पोषण, वास तथा अनुगमन र मूल्याङ्कन सम्बन्धी क्षेत्रहरूमा भएका प्रमुख गतिविधिहरूको बारेमा प्रकाश पार्नुभएको थियो ।
उहाँका अनुसार परियोजनाले कृषि क्षेत्रतर्फ लाभान्वित घरधुरीहरूको लागत साझेदारीमा साना कृषि उपकरण र सामग्रीहरू प्रदान गरिएको छ भने घर बगैँचा तालिम, सिलो जाउलो बनाउने तरिका, नर्सरी व्यवस्थापन तालिम, कृषक उद्यमीहरूलाई व्यवसायिक योजना तालिम, अध्ययन अवलोकन भ्रमण, सामुदायिक व्यवसाय सहजकर्ताहरूलाई अवलोकन भ्रमण, प्राविधिक तालिम प्रदान गरिएको छ । कुपोसित बालबालिका भएको घरधुरीलाई कुखुरा हाँस सहयोग तथा चार पालिकामा २१ वटा नर्सरी, १० वटा गड्यौला मल बनाउने, पाँचवटा समूहगत र विद्यालयहरूमा प्रदर्शनी स्थल नर्सरी सहयोग गरिएको छ ।
वास क्षेत्रमा स्वयंसेविकाहरू मार्फत आमा समूहको बैठकमा सरसफाइ सम्बन्धी सचेतनामूलक छलफल, स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सम्बन्धी तालिम, स्वयंसेविकाहरूलाई अध्ययन अवलोकन भ्रमण, चारवटा स्वास्थ्य चौकीहरूमा मर्मत सम्भार एवं सरसफाइका सामग्रीहरू सहयोग, कुपोषित भएका बालबालिकाहरू राम्रोसँग आनीबानी एवं व्यवहार परिवर्तन गरी निको भएका विपन्न परिवारहरूलाई सरसफाइका सामग्रीहरू सहयोग गरी १६ घरपरिवारलाई पुरस्कृत गरिएको रानाले जानकारी दिनुभयो ।
लागत साझेदारीमै ८ सय ७७ घरपरिवारहरूलाई स्वास्थ्य सरसफाई सम्बन्धी सामग्रीहरू सहयोग गरिएको छ भने स्वास्थ्य सरसफाइ र कृषि सम्बन्धी सचेतनामूलक सन्देशहरू स्थानीय रेडियोबाट प्रशारण गर्नुका साथै चारै पालिकामा होर्डिङ बोर्डहरू समेत राखी समुदायमा सन्देश फैलाउने काम गरिएको उहाँले बताउनुभयो ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले संस्थाले यस जिल्लामा निकै महत्वपूर्ण कार्यहरू गरी समुदायलाई पोषणको क्षेत्रमा सचेत गराउँदै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संघसंस्थाहरूले काम गर्ने सिलसिलामा एउटै प्रकृतिका कार्यक्रमहरू नदोहोरिने गरी गर्नुपर्ने उहाँको जोड थियो ।
प्रतापपुर गाउँपालिका अध्यक्ष यादवले सियानले चार पालिकामा स्थानीय सरकारसँग समन्वय गर्दै पाँच वर्ष मुनिका बालबालिका, गर्भवती महिला, स्तनपान गराएका महिला, कुपोषित बालबालिकाहरु भएका घरधुरीहरुमा गएर प्रभावकारी र महत्वपूर्ण काम गरेको बताउनुभयो । परियोजनाका कार्यक्रमहरुलाई सफल बनाउन स्थानीइ सरकारले गर्नुपर्ने समन्वय र सहयोग गर्न तयार रहेको बताउँदै अध्यक्ष यादवले परियोजनाको योजना पनि चार वटै पालिकाको आगामी आर्थिक वर्षको योजनामा समावेश गर्न सकेको भए थप प्रभावकारी हुनेथियो भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले परियोजनाका क्रियाकलापहरु राम्रो रहेको बताउँदै नतिजा देखिनेतर्फ केन्द्रीत हुन आग्रह गर्नुभयो । प्रतापपुर गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष केशवप्रसाद अधिकारीले सियानले परियोजना मार्फत समाजमा निकै महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो । उक्त अवसरमा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक), सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, सुस्ता गाउँपालिका उपाध्यक्ष गीता चौधरी लगायतको पनि सहभागिता रहेको आइडिईका क्षेत्रीय संयोजक सुमन श्रेष्ठले बताउनुभयो ।
C1