परासी, १५ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरस्थित ज्ञान ज्योति आधारभूत विद्यालयलाई सिटिजन बैंक इण्टरनेशनल लिमिटेड परासी शाखाले विभिन्न जिन्सी सामग्री हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत आज असार १५ गते २२ औँ धान दिवसको अवसर पारेर विद्यालयमा एक कार्यक्रम गरी उक्त सामग्री उपलब्ध गराएको हो । बैंककी शाखा प्रबन्धक मीना पाण्डेयले एक थान स्टिल दराज,एक थान टेबल र दुई थान कुर्सी विद्यालयका प्रधानाध्यापक लक्ष्मण सुवेदी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण विकलाई हस्तान्तरण गर्नुभएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्यले उक्त सहयोग गरेको प्रबन्धक पाण्डेयले बताउनुभयो । आज धान दिवसको अवसर पारेर आयोजना गरिएको यस किसिमको सामाजिक गतिविधिले सामुदायिक शिक्षा प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बैंकले प्रत्येक वर्ष नै सामाजिक संस्थागत उत्तरदायित्व अन्र्तगत विभिन्न सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक सुवेदीले सिटिजन बैंकप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यालय सञ्चालनमा थप सहजता आउने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा विद्यालयले चार वर्षको पर्खाइपछि व्यवस्थापन समितिको अध्यक्ष पाएको भन्दै बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको थियो ।
सिटिजन बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा,१६८ वटा एटिएम, ३ विस्तारित काउण्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइ मार्फत सेवा प्रदान गर्दै आएको छ ।
C1