परासी, १५ असार । जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन पश्चिम नवलपरासीको आयोजनामा वृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।
साहित्य, कला र सिर्जनात्मक अभिव्यक्तिको प्रवद्र्धन गर्ने उद्देश्यसहित बर्दघाटमा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्रष्टा, कवि, साहित्यप्रेमी तथा सांस्कृतिक अभियन्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी करिक ३० जना साहित्यकारहरूले आफ्ना मौलिक कविता, गजल, गीत तथा क्यारिकेचर प्रस्तुत गरेको फाउण्डेसनले जनाएको छ । उनीहरूले फाउण्डेसनले साहित्यिक कार्यक्रमलाई महत्व दिएर कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै साहित्यमार्फत समाज परिवर्तन र जनचेतना अभिवृद्धिमा टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।
मदन भण्डारी कला साहित्य मञ्चका संयोजक विष्णु प्रसाद पौडेलको अध्यक्षता तथा नवलपरासी साहित्य परिषद्का अध्यक्ष डा.श्यामप्रसाद न्यौपानेको प्रमुख आतिथ्यामा भएको उक्त कार्यक्रममा मदन भण्डारी फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले जनताको पक्षमा अडिग भएर उभिने मदन भण्डारीको विचार र व्यक्तित्वलाई साहित्यिक माध्यमबाट उजागर गर्न यस कार्यक्रम कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवापुस्ता सिर्जनात्मक अभिव्यक्तिको माध्यमबाट राष्ट्र निर्माणको अभियानमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो।
साहित्यकार हुमनाथ पाण्डेयले समालोचना प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा फाउण्डेसनका पूर्व जिल्ला सचिव देवराज श्रेष्ठ,वर्तमान सचिव चोलाकान्त रेग्मी,बौद्धिक मञ्चका संयोजक दीप्क ढकाल लगायतले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । फाउण्डेसनले मदन स्मृति दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको थियो ।
C1