२०८२ अषाढ १७, मंगलबार
24 खबर अपडेट

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरावलमा अभिमुखीकरण

२०८२ अषाढ ११, बुधबार प्रकाशित ( दिन अघि) १८८ पाठक संख्या

मोहन पौडेल
परासी, ११ असार । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादीत बनाउने उद्देश्यले पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अभिमुखीकरण गरिएको छ । सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्र्तगत सरावलका सरोकारवालाहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अभिमुखीकरण गरिएको हो ।
नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय साझेदारी अनुसार सामी कार्यक्रम लागू भएपछि सरावलमा आज पहिलोपटक सामी कार्यक्रमका विषयमा सरोकारवालासँग अन्र्तक्रियासहित अभिमुखीकरण गरिएको सरावल गाउँपालिका सामी कार्यक्रमकी मनोसामाजिक परामर्शकर्ता नीलु अग्रहरीले जानकारी दिनुभयो ।
सरावलमा सामी कार्यक्रम लागू भएसँगै वैदेशिक रोजगारीमा जान चाहने,विदेशबाट फर्केका तथा जाने तयारीमा रहेकाहरुलाई लक्षित गरी सात वटै वडामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयो । लक्षित समुदायलाई अभिमुखीकरणसँगै वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको परिवारलाई मनोसामाजिक परामर्श सेवा समेत दिने काम भइरहेको र हालसम्म चार स्थानमा उक्त कक्षा सञ्चालन भइसकेको मनोसामाजिक परामर्शकर्ता अग्रहरीले बताउनुभयो ।
पछिल्लो समय वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढिरहेको अवस्थामा रोजगारीका लागि विदेशिएका युवाहरुले गन्तव्यमा पुगेपछि कुनै किसिमको दुःख र पीडा भोग्न नपरोस् भन्ने उद्देश्यले सामी कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले रहर भन्दा बाध्यता बनेको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सबै सचेत हुनुपर्ने बताउनुभयो । सही सूचना र सीप बिना वैदेशिक रोजगारीमा जाँदा विभिन्न समस्या आउने गरेको तथा ठगीमा पर्नुपरेको समस्याहरु धेरै नै रहेको बताउँदै गाउँपालिकाबाट आवश्यक सचेतनाका कार्यक्रमलाई अघि बढाईने उल्लेख गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष बासमति हरिजनको अध्यक्षतमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष हरिजनले सुरक्षित वैदेशिक रोजगारीको विषयमा गाउँगाउँमा सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सकेसम्म विदेश नजान र जानै पर्ने भए सीप सिकेर र सही सूचना लिएर मात्र जान आग्रह पनि गर्नुभयो । वडा नं.१ का वडा अध्यक्ष विष्णु भट्टराईले सही सूचना र जानकारीको अभावमा वैदेशिक रोजगारीमा जानेहरु स्थानीय स्तरमै ठगीमा परेको प्रशस्त उदाहरणहरु रहेको बताउँदै सचेत हुन जरुरी रहेकोमा जोड दिनुभयो ।
वैदेशिक रोजगारीमा जान चाहने युवा तथा सम्भावित व्यक्तिहरुलाई सहि सूचना कसरी लिने, रोजगारीका लागि जाँदै गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा सामी मार्फत जानकारी गराउने कार्य भइरहेको आप्रवासी स्रोत केन्द्रका जिल्ला संयोजक ज्ञानप्रकाश यादवले बताउनुभयो । कार्यक्रममा सहजीकरण गर्दै संयोजक यादवले आ.व.२०७८।०७९ देखि हालसम्मको अवधिमा सरावल गाउँपालिकाबाट वैदेशिक रोजगारीमा गएका ८ जनाको मृत्यु भएको र तीन जनाको अंगभंग भएको तथ्यांक रहेको जानकारी दिनुभयो । यो एक वर्षको अवधिमा जिल्लाबाट दश हजार बढीले श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा गएको उहाँले बताउनुभयो ।
आप्रवासी स्रोत केन्द्रले जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना गरी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिहरुलाई आवश्यक परामर्श, सूचना तथा जानकारी प्रदान गर्दै आएको छ भने ठगीमा परेकालाई उद्धार तथा सहयोग एवं क्षतिपूर्तिका लागि पनि पहल गर्दै आएको छ ।
सामी कार्यक्रम अहिले चौथो चरणमा सञ्चालन भइरहेो छ । सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबिच भएको द्विपक्षीय सम्झौताबमोजिम सन् २०१३ देखि कार्यान्वयनमा आएको हो । हाल नेपाल सरकारले अपनत्व लिएर सञ्चालन गरिरहेको सामी कार्यक्रमको चौथो चरण तीनै तहका सरकारको समन्वय,सहकार्य र लागत साझेदारीमा सञ्चालनमा रहेको जिल्ला संयोजक यादवले उल्लेख गर्नुभयो ।
नेपाली आप्रवासी कामदार र तिनका परिवारलाई राज्य संयन्त्रबाट संरक्षण गरी सुरक्षित तथा मर्यादीत कार्य वातवारणबाट लाभान्वित तुल्याउनु सामीको प्रमुख उद्देश्य हो । यस कार्यक्रमको माध्यमबाट वैदेशिक रोजगारीमा रहेका महिला तथा पुरुष आप्रवासी कामदार र उनीहरुका परिवारको वैदेशिक रोजगारीबाट सिर्जित सामाजिक लागत न्यूनीकरण भई सामाजिक आर्थिक लाभ अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस