परासी,१० असार । जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा पश्चिम नवलपरासीमा गत असार ८ गतेदेखि सप्ताहव्यापी कार्यक्रम जारी छ । सोही क्रममा सप्ताहको तेस्रो दिन आज प्रतापपुरको गोपीगञ्जमा रक्तदान र बरगदवामा वृक्षारोपण गरिएको छ।
मदन भण्डारी फाउण्डेसन जिल्ला शाखाले नवलपरासीले मदन जयन्ती सप्ताहव्यापी रुपमा मनाउने क्रममा आज प्रतापुर गाउँपालिकाको गोपीगञ्जमा रक्तदान तथा वडा नं. ३ स्थित वीरेन्द्र आधारभूत विद्यालय बरगदवामा वृक्षारोपण कार्यक्रम गरेको फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले जानकारी दिनुभयो ।
सामाजिक सेवासँगै रक्तदानमार्फत मानवीय सेवालाई टेवा दिन ग्रामीण क्षेत्रमा रक्तदान कार्यक्रम र वातावरणीय स्वच्छताका लागि ग्रामीण भेग बरगदवामा वृक्षारोपण कार्यक्रम गरी मदन भण्डारीको विचारलाई फैलाउने काम गरिएको अध्यक्ष बस्यालको भनाइ थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अन्र्तगत रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको उक्त रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए ।
रेडक्रस जिल्ला शाखाका उपमन्त्री एवं रक्त सञ्चार सेवा केन्द्रका संयोजक सुरज केसीको विशेष आतिथ्य रहेको उक्त कार्यक्रममा फाउण्डेसनकी कोषाध्यक्ष प्रियंका चौधरी, सदस्य गजेन्द्र गिरी , एमाले प्रतापपुर अध्यक्ष प्रदीप सिंह क्षेत्री लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत भोली चौथो दिन सरावलको भुजहवामा वृक्षारोपण कार्यक्रम रहेको छ । असार ८ गते भूमहीमा रक्तदान कार्यक्रम गरी शुभारम्भ गरिएको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत दोस्रो दिन सोमबार सुनवल वनकट्टीमा वृक्षारोपणसहित फाउण्डेसनको नगर कमिटी गठन कार्यक्रम सम्पन्न भएको थियो ।
फाउण्डेसनका संस्थापक जिल्ला अध्यक्ष थानप्रसाद गैरेको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा सहभागिहरुले मदन भण्डारीको विचार र योगदानको चर्चा गरेका थिए । सप्ताह अन्र्तगत असार १२ गते परासीमा खुशी साटासाट,१३ गते परासीमा विचार गोष्ठी र १४ गते बर्दघाटमा साहित्यीक कार्यक्रम समेत सञ्चालन हुने फाउण्डेसनले जनाएको छ ।
C1