२०८२ अषाढ १७, मंगलबार
24 खबर अपडेट

सरावल गाउँपालिकाले ल्यायो रु ५३ करोड ३५ लाखको बजेट

२०८२ अषाढ १०, मंगलबार प्रकाशित ( दिन अघि) २४७ पाठक संख्या

मोहन पौडेल
परासी, १० असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले ५३ करोड ३५ लाख बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको मंगलबार सम्पन्न गाउँसभाको १६ औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि रु ५३ करोड ३५ लाख ३५ हजारको बजेट सार्वजनिक गरेको हो ।
सभामा गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले प्रस्तुत गरेको उक्त बजेट सर्वसम्मत पारित भएको थियो । उपाध्यक्ष हरिजनका अनुसार कूल विनियोजित बजेट मध्ये चालु खर्चतर्फ रु ३२ करोड ८८ लाख ८१ हजार अर्थात ६१.६३ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ रु २० करोड ९६ लाख ९४ हजार अर्थात ३८.३७ प्रतिशत छुट्याइएको छ ।
सरावल गाउँपालिकाले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण,सशर्त, समपुरक र विशेष अनुदान गरी रु ३४ करोड ३० लाख तथा प्रदेश सरकारबाट समानीकरण,सशर्त, समपुरक र विशेष अनुदान गरी रु दुई करोड ५३ लाख ३७ हजार प्राप्त हुने प्रक्षेपण गरेको छ । राजश्व बाँडफाँडतर्फ संघीय रु ९ करोड ९१ लाख,प्रदेश रु एक करोड ९८ हजार, वन रोयल्टी रु ४ लाख र घरजग्गा रजिष्ट्रेशन दस्तुर रु एक करोड ३० लाख गरी रु १२ करोड २५ लाख ९८ हजार राजश्व प्राप्त हुने अनुमान गरिएको छ ।
सात वटा वडा रहेको गाउँपालिकाले प्रत्येक वडालाई रु ९० लाखको दरले बजेट विनियोजन गरेको छ । यसबाहेक विषयगत शाखाका लागि दुई करोड ५५ लाख रुपैयाँ,पालिका स्तरीय योजनाका लागि रु एक करोड ५० लाख र क्रमागत योजनाका लागि रु ८० लाख खर्च छुट्याएको छ ।
गाउँपालिका उपाध्यक्ष हरिजनद्धारा प्रस्तुत बजेट वक्तव्य अनुसार आर्थिक विकासतर्फ रु ४ करोड २५ लाख,सामाजिक विकासतर्फ रु २१ करोड छ लाख ६० हजार,पूर्वाधारतर्फ रु १४ करोड २२ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि रु एक करोड सात लाख, सुशासन तथा प्रशासनिक खर्चका लागि रु १२ करोड ७४ लाख ७५ हजार विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीको सभाध्यक्षतामा भएको उक्त सभाले विनियोजन विद्ययेक र आर्थिक विद्ययेक पारित गरेको हो । असार ८ गते सम्पन्न गाउँसभाको पहिलो बैठकमा पेश गरिएको वन विद्ययेक र खानेपानी तथा सरसफाइ विद्ययेक पनि सर्वसम्मत पारित भएको छ । गाउँपालिकाले असार ८ गतेको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस