मोहन पौडेल
परासी, ८ असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको आइतबार आयोजित गाउँसभाको १६ औँ अधिवेशनले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बाढी नियन्त्रणलाई प्राथमिकता दिँदै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले गाउँपालिकाले यसअघि नै शुरु गरेका गौरवका योजनाहरुलाई निरन्तरता दिँदै बाढी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । गाउँपालिका अन्र्तगत भएर बग्ने भलुही, झरही,धनेवा लगायतका खोलामा ड्याम बनाइ तटबन्ध निर्माण गरी डुबान समस्यालाई समाधान गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बाढी नियन्त्रणका लागि स्थानीय समुदायको सहकार्यमा नदी, खोला, घोला,कुलो र नाला सफाइलाइ अभियानको रुपमा सञ्चालन गरिने अध्यक्ष चौधरीले बताउनुभयो । डुबानग्रस्त क्षेत्र वडा नं. ५,६ र ७ का प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध गर्न पहल गर्ने तथा बाढी प्रभावित क्षेत्र तीन वटै वडामा गहुँ बालीमा विशेष जोड दिइ तीन वटा गहुँ पकेट क्षेत्र स्थापना गर्ने योजना अघि सारिएको छ ।
गाउँपालिकाले आगामी आ.व.२०८२।०८३ देखि पालिका स्तरीय आधारभूत अस्पताल निर्माणको साथै पालिकाको प्रशासकीय भवन निर्माणको काम पनि शुरु गर्ने भएको छ । गाउँपालिकाले वडा नं.१ देखि ७ जोड्ने पालिका मार्ग बासा–मनरी–भीमटाँडी–सरावल–गोबरहिया–धनगढवा हुँदै भुजहवा जोड्ने सडकलाई व्यवस्थित स्तरोन्नती र सौन्दर्यीकरण गर्ने साथै देवीनगर–पट्खौली–मनरी–सरावल–गोबरहिया–भुजहवा सडकलाई यसैवर्ष सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयलाई उपलब्ध गराउँदै आएको गाउँपालिका अनुदान कोटालाई निरन्तरता दिँदै आगामी वर्ष अत्याधिक विद्यार्थी चाप भएको विद्यालयमा दरबन्दी पुनःसरचना गरी विद्यार्थी अनुसार शिक्षक दरबन्दी मिलान गर्ने नीति लिएको छ ।
आदर्श मावि खोखरपुरा र जनता नमूना मावि मनरीलाई गुणस्तरीय शिक्षाका साथै नमूना तथा व्यवसायिक अध्ययन अध्यापनको केन्द्र बनाउने घोषणा गरिएको छ भने शिक्षामा पहुँच स्थापित गरी रोजगारीसँग जोड्न गाउँपालिका क्षेत्र भित्र स्नातक तहसम्मको अध्ययनलाई सहज बनाउँदै लैजाने र यसका लागि उच्च शिक्षामा अध्ययनरत दलित,विपन्न,जेहेन्दार विद्यार्थीलाई अध्यक्ष शैक्षिक प्रोत्साहन कार्यक्रम र अध्यक्ष छात्रवृत्ति कार्यक्रम शुरुवात गरिने गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
खेलकुद क्षेत्रको विकासलाई जोड दिँदै गाउँपालिकाले एक वडा एक खेलमैदानको नीति पनि अघि सारेको छ । स्थानीय युवाहरुलाई खेलप्रति आकर्षित गर्न सरावल कोल वृक्ष कप खेलकुद प्रतियोगिता एवं उपाध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने योजना राखिएको छ।
महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सुरक्षाको लागि पालिकामा रहेको वर्थिङ सेन्टरको सेवालाई सुदृढ बनाउने,उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम शुरुवात गर्ने, अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकालाई सडक आश्रित मानव मुक्त गाउँपालिका घोषणाका लागि कार्यक्रम अघि बढाउने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो ।
वास्तविक किसानको पहिचानका लागि किसान परिचय पत्र वितरण गर्ने सरावल गाउँपालिकाको नीति छ । गाउँपालिकाले कृषिको प्रवद्र्धनका लागि पूर्ण सिँचाइ युक्त पालिका बनाउने लक्ष्य अघि सारेको छ । सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, बिरामीलाई निःशुल्क रक्त सञ्चार लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष हरिजनले बताउनुभयो ।
सभाले वन विद्ययेक २०८२ र खानेपानी तथा सरसफाइ विद्ययेक २०८२ पारित गरेको सभा सचिव एवं प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राले जानकारी दिनुभयो । गाउँसभाको असार १० गते बस्ने अर्काे बैठकले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने गाउँपालिकाले जनाएको छ ।
C1