२०८२ अषाढ ७, शनिबार
24 खबर अपडेट

अबको युवा यस्तो हुने कि ?

२०८२ अषाढ ७, शनिबार प्रकाशित ( घण्टा अघि) ५० पाठक संख्या

असिम अधिकारी
युवाको त्याग र बलिदानले नेताहरु सत्तामा पुग्छन अनि युवाकै मनोभावनामा ठेस लाग्ने गरी शासन सत्ता चलाउँछन् । हिजो देखि चलिरहेको चलन । त्यसैले अब युवाहरुमा पनि नेतृत्वलाई प्रश्न गर्ने आँट र आफुले नेतृत्व गर्ने अग्रसरता देखाउनु पर्दछ।
युवा भनेका बिचारका खानी हुन त्यो पनि पवित्र र सत्य विचारका । युवा स्वतन्त्र र पवित्र विचारका प्रतीक हुन्,प्रगतिशील र अग्रसरताका तारा हुन् । युवामा सत्य नै मार्गदर्शन सिद्धान्त हुन्छ तर हामी युवा कता जादैछौँ ? के अनुशरण गर्दैछौँ ? कस्ता कुराले हामी सम्बोधित छौ ? के हेक्का छ हामीलाई ? कहिले गम्भीरतापूर्वक सोचेका छौँ ? पक्कै छैनौं । युवा परिवर्तन र विचारका शक्तिमान हुन्, परिवर्तनका आँधि हुन्, अन्याय र अत्याचार अनि बेथितीका सहिद हुन्।
परिवर्तनको आगो हुन्छ, बेथिति र कुशासनको चीत्कार हुन्छ। समाज र देश प्रति आघात माया र परिवर्तनको ज्वाला हुन्छ । युवा त्यो शक्ति हो जो सत्यको सफल अवतरणको लागि ज्यानको बलिदान दिन तयार हुन्छ। युवा वास्तविक रुपमा सत्य र परिवर्तनको प्रतीक हो। आज मेरो देशले त्यस्तै युवाको खोजी गरिरहेको छ । कहाँ छन ती युवा? सत्यको दियोले ती युवा खोजिरहेको छ। नेपाल आमा ती युवाको खोजीमा दिनहुँ चित्कार गरिरहेकी छिन।
युवाको त्याग र बलिदानले नेता सत्तामा पुग्छन् अनि युवाको मनोभावना खिन्न हुनेगरी सत्ता चलाउँछन् । हिजो देखि चलिरहेको चलन । सुनिन्छ देश कुशासन, भ्रष्टाचार र बेथितिको आइसियुमा छ । यो कुराले कसैलाई दोस दिइरहेको छ त कसैलाई गिज्याइरहेको छ । के यो बिषय हामीसंग सम्बन्धित छैन ? अवस्य छ, किन कि हामी यहि देशका नागरिक हौँ । देशमा भएको यस विषयमा हामी सबै युवा जिम्मेवार छौ । हामीले नै यसको औषधि गर्नुपर्छ। तर सामान्य ओखतीले हुदैँन् ।
२४ घण्टा हेरचाह, खबरदारी , एन. एस. सलानी पानी, एल. आर, डि .एस. एन्टिबायोटिक , किमा, वास्विकरण, सबै प्रयोग गरेर विरामी देशलाइ स्वस्थ बनाउनु छ,बनाउनु पर्छ। देश गम्भीर बिरामी भएको सबै युवालाई थाह छ तर पनि हामी तैँ चुप मै चुप छौँ । तर कहिले सम्म ? के भातृ संगठनहरु एस मेन संगठन हो त ? मौनतामा नै संगठनको नेतृत्वको रुपमा जीवन बिताउने हो?
त्यसैले अबका युवा नीति,विधि, प्रविधि सहितको, बिचार, सिद्धान्त,जनप्रियता,लोकप्रियता अनि सहि र गलत छुट्याउन सक्ने बौद्धिक चेताना भएको युवा राजनीति चाहिन्छ । गलत कुरालाई प्रतिकार गर्न सक्ने आँट भएको युवा देशले मागिरहेको छ । सहि कुरामा अडिग रहन सक्ने क्षमता, भविष्यको कर्णधार होइन् वर्तमानको साझेदार बन्न सक्ने गतिशीलता , भ्रष्टाचार, बेथिति, बिचौलिया,दलाल, तस्करको जालो विरुद्ध बुलन्द आवाज निकाल्न सक्ने, समाज परिवर्तनको हुटहुटी भएको युवा तपाईंको समाजले खोजिएरहेको छ।
इमानदारीता सहित सुशासनको खुल्ला बहस गर्न सक्ने सक्षमता, अध्ययन गहिराइ भएको,लहड, भिड र दन्त्य कथामा होइन्, वास्तविकताको वकालत गर्ने अनि तथ्य र नतिजाका आवाजलाई पथ प्रदर्शक बनाउने क्षमतावान युवा समाजले मागिरहेको छ।
इतिहास पढने होइन्, देश र जनताको निम्ति इतिहास बनाउन मैदानमा उत्रिने युवा हुनुपर्छ । युवा कसैको नाता, कृपा र बकौतिले राजनीतिको मैदानमा उत्रिएको होइन भन्ने उदाहरण पेस गर्ने खालको युवा हुनुपर्छ । समाज र देशको लागि केही गर्न र स्वार्थ अनि फोहोरको राजनीति कु–संस्कारको चिरफार गर्न बैचारिक परिपक्वता सहित निःस्वार्थ रुपमा कफन बाँधेर सुशासनको दृढ संकल्प सहित अबिचलित भै समृद्ध नेपालको सपना साकार गर्ने सोच युवा परिचय मागेको छ मेरो, तपाईंको अनि हाम्रो समाजले।
मेरो घर परिवार, तपाईंको घरपरिवार, हामी सबै देशवासीले यस्तै राजनीति डाक्टरको खोजी गरिरहेको छ। अब डाक्टर बन्न तयार हुनुपर्छ । सहि लाई सहि, गलतलाइ गलत भन्न सक्नुपर्छ । चाहे आफ्ना हुन चाहे अर्काका हुन। देश र जनताको लागि संघर्षको मैदानमा नेतृत्व गर्ने सच्चा र इमानदार योद्धाका लागि भिड हुँदा पनि, एक्लो रहदाँ पनि साथ कहिले छुट्नेछैन । सबैले साथ दिने छन्, आज पनि भोलि पनि।
यो लेखकको व्यक्तिगत दृष्टिकोण हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस