२०८२ अषाढ ७, शनिबार
24 खबर अपडेट

सुनवल नगरपालिकाद्धारा शिक्षा क्षेत्रमा रु २८ करोड बजेट विनियोजन, अन्य क्षेत्रमा कति ?

२०८२ अषाढ ७, शनिबार प्रकाशित ( घण्टा अघि) ५१ पाठक संख्या

मोहन पौडेल
परासी, ७ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले शिक्षामा रु २८ करोड बढी बजेट विनियोजन गरेको छ । नगरपालिकाको शुक्रबार सम्पन्न १७ औँ नगरसभाले शिक्षा क्षेत्रको विकासलाई उच्च महत्व दिँदै रु २८ करोड ४३ लाख २५ हजार विनियोजन गरेको हो ।
सभामा आगामी आर्थिक वर्ष २०८२।०८२ का लागि बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख सूर्यप्रसाद दुवेले शिक्षा र यातायात पूर्वाधारको विकासमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार शिक्षा क्षेत्रमा आवश्यक पूर्वाधार विकास एवं लगानी गर्ने नीतिगत व्यवस्था अनुरुप प्राथमिकतामा राखिएको हो । विद्यालय भवन लगायत पूर्वाधार विकास, यातायातको सुविधा, शैक्षिक गुणस्तर सुधार लगायतका कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ ।
सुनवल नगरपालिकाले आगामी आर्थिक वर्षका झण्डै एक अर्ब बराबरको बजेट पारित गरेको हो । नगरपालिकाले आगामी आबमा संघीय सरकार वित्तीय हस्तान्तरणतर्फ रु ४६ करोड,प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फ रु ३ करोड ७० लाख ३३ हजार,राजश्व बाँडफाँडतर्फ रु ४१ करोड २७ लाख ६७ हजार र आन्तरिक स्रोततर्फ रु ९ करोड आम्दानी हुने प्रक्षेपण गर्दै रु ९९ करोड ९८ लाख बराबरको बजेट विनियोजन गरिएको नगर उपप्रमुख दुवेले जानकारी दिनुभयो ।
उहाँका अनुसार कूल बजेटको चालु खर्चतर्फ रु ४७ करोड ६० लाख र पुँजीगत खर्च तर्फ रु ५२ करोड ३८ लाख विनियोजन गरिएको छ । नगरपालिकाले सामाजिक विकासका क्षेत्र अन्र्तगत शिक्षातर्फ २८ करोड ४३ लाख २५ हजार,स्वास्थ्यतर्फ रु ३ करोड ७८ लाख,खानेपानी तथा सरसफाइतर्फ रु एक करोड १४ लाख,भाषा तथा संस्कृतितर्फ रु २२ लाख ७५ हजार,युवा खेलकुद तथा मनोरञ्जनतर्फ रु ६४ लाख,लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ रु ६९ लाख,बहुक्षेत्रीय पोषणतर्फ रु २० लाख गरी रु ३५ करोड ११ लाख विनियोजन गरेको छ ।
आर्थिक विकासतर्फ रु ५ करोड ४३ लाख ५० हजार विनियोजन गरिएको छ । जसमध्ये कृषितर्फ रु एक करोड ५८ लाख ५० हजार, पशुपन्छी विकासतर्फ रु एक करोड २९ लाख ५० हजार,पर्यटनतर्फ रु एक करोड नौ लाख,सहकारीतर्फ रु दश लाख,उद्योगतर्फ रु १२ लाख,जलस्रोत तथा सिँचाइतर्फ रु ५७ लाख,वन तथा वातावरणतर्फ रु ५७ लाख ५० हजार रहेको छ ।
पूर्वाधार विकासका लागि रु ३६ करोड २१ लाख विनियोजन गरिएको छ । जसमा यातायात पूर्वाधारतर्फ रु २८ करोड ९७ लाख ५० हजार, भवन आवास तथा शहरी विकासतर्फ रु ६ करोड ६१ लाख २५ हजार,सार्वजनिक जग्गा संरक्षणतर्फ रु ६२ लाख २५ हजार विनियोजन गरिएको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु २० करोड ७७ लाख विनियोजन गरिएको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि रु २ करोड ४५ लाख ५० हजार विनियोजन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस