२०८२ अषाढ ७, शनिबार
24 खबर अपडेट

सुनवलको नीति तथा कार्यक्रम : मेयर केयर कार्यक्रमदेखि नगर अस्पतालसम्म प्राथमिकतामा

२०८२ अषाढ ७, शनिबार प्रकाशित ( घण्टा अघि) ८६ पाठक संख्या

मोहन पौडेल
परासी, ७ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले समस्यामा परेका नागरिकलाई लक्षित गर्दै “मेयर केयर” कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको शुक्रबार सम्पन्न १७ औँ नगरसभाले आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गर्ने नीति ल्याएको हो ।
आर्थिक रुपमा समस्यामा परेका नागरिकलाई सहायता गर्ने उद्देश्यले मेयर केयर कार्यक्रम सञ्चालन गर्न लागिएको सुनवल नगर प्रमुख बिमला अर्यालले बताउनुभयो । नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अर्यालले यस वर्षदेखि नयाँ कार्यक्रमको रुपमा शुरु गर्न लागिएको यो कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गरिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण पढ्न नपाएका, यातायात सेवा लिन नसकेका, स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेका,विपद्मा परेका नागरिकहरुलाई निश्चित मापदण्ड बनाएर सहयोग गर्न मेयर केयर अवधारणा ल्याइएको हो ।”
आगामी आर्थिक वर्षमा सुनवल नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएको छ । नगरमा अहिलेसम्म अस्पताल नभएको अवस्थालाई मध्यनजर गर्दै ८ नम्बर वडामा रहेको सुनवल स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी ५ शैय्याको र ५ नम्बर वडामा १५ शैय्याको नगर अस्पताल यथाशीघ्र सम्पन्न गरिने मेयर अर्यालले बताउनुभयो ।
महिला स्वास्थ्य स्वयमसेविकाको योगदानलाई मूल्यांकन गर्दै मासिक रुपमा दिइँदै आएको सेवा सुविधा थप गरी रु ५ हजार पुर्याइएको छ भने अवकाश पछि दिइँदै आएको उपदानमा थप एक लाख बृद्धि गरी रु तीन लाख पुर्याइएको छ । मृगौलाको नियमित डायलासिस गर्नुपर्ने र रगत चढाउनुपर्ने बिरामीका लागि डायलासिस सेवा केन्द्र सञ्चालनमा ल्याउने नगरको तयारी छ । आयुर्वेद सेवाको थप विस्तार,पोषणमैत्री नगर निर्माण लगायत विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गर्ने नीतिमा समावेश गरिएको छ।
सुनवल नगरपालिकाले हिलपार्क,तिलकाना नमूना बस्ती विकास,विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि आवासिय विद्यालय सञ्चालन,औपचारिक शिक्षाबाट वञ्चित महिलाहरुका लागि महिला समता विद्यालय,गुरुकुल,मदरसा लगायत दीर्घकालिन महत्व राख्ने नगरका गौरवका योजनालाई निरन्तरता दिइएको नगर प्रमुख अर्यालले बताउनुभयो । पर्यटन,शिक्षा, कृषि,रोजगार, पूर्वाधार लगायतका क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।
५ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्तालाई महशुलमा छुट, शैक्षिक गुणस्तर अभिवृद्धि,महिला मैत्री नगर निर्माण,सेफा हाउस सञ्चालन,मृत्यु संस्कार खर्च,विपन्न नागरिकका लागि सुरक्षित आवास लगायतका योजनाले पनि निरन्तरता पाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस