परासी, ५ असार । नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ । स्थानीय स्काउट कार्यालय रामग्राम नवलपरासीले आज परासीमा समाज सुधारमा युवाहरुको भूमिका विषयक आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको हो ।
यस क्षेत्रका ८ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा मायादेवी ईङलिस स्कुल उजैनी प्रथम स्थान हासिल गर्दै नगद रु एक हजार ५०० र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने सयपत्री माविले दोस्रो स्थान हासिल गर्दै नगद रु एक हजार २०० सहित प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा लिटिल एञ्जेल्स माविले तृतीय स्थान हासिल गर्दै नगद रु ८००सहित प्रमाणपत्र प्राप्त गरेको छ भने सरस्वती मावि शान्तिचौरले सान्त्वना स्थान हासिल गर्दै नगद रु ५००सहित प्रमाणपत्र प्राप्त गरेको जिल्ला स्काउटका प्रमुख आयुक्त मुकुन्द सुचीकारले जानकारी दिनुभयो ।
आयुक्त सुचीकारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल स्काउट लुम्बिनी प्रदेशका सल्लाहकार सुमनगोपाल आचार्य,नेपाल रेडक्रस सोसाइटी परासी उपशाखाका सभापति सन्दिप अग्रहरी, रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुनिल कसौधन, सुनवल स्काउटका संयोजक हरि ढकाल, रामग्राम स्काउटकी पूर्व संयोजक तारादेवी शर्मा लगायतको सहभागिता थियो ।
C1