२०८२ अषाढ ३, मंगलबार
24 खबर अपडेट

नवलपरासीको बर्दघाटमा शुरु भयो कपडा बैंक

२०८२ अषाढ ३, मंगलबार प्रकाशित ( घण्टा अघि) ६६ पाठक संख्या

परासी, ३ असार । कमजोर आर्थिक अवस्था तथा विपदबाट प्रभावित नागरिकलाई लक्षित गरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा कपडा बैंक स्थापना गरिएको छ। बर्दघाट जेसीज र क्लोथ एण्ड फुड बैंक नेपालको संयुक्त आयोजना पहलमा बर्दघाट नगरपालिकाको कार्यालयको प्रांगढमा कपडा बैंक शुरु गरिएको हो ।
नेपालको दुर्गम जिल्लाहरु हुम्ला,जुम्ला सहित दुरदराजका ग्रामीण बस्तीमा गरी १६५ स्थानीय तहमा विस्तार भइसकेको क्लोथ एण्ड फुड बैंक आजबाट बर्दघाटमा पनि शुभारम्भ गरिएको क्लोथ बैंकका अध्यक्ष कमल जिसीले जानकारी दिनुभयो । नेपालभर विस्तार गरिएका शाखाबाट वार्षिक रुपमा दुई करोड मूल्य बराबरका ३२ देखि ४० टनसम्म लुगा संकलन गरिएको लक्षित वर्गमा वितरण गरिएको उहाँले बताउनुभयो ।
कपडा बैंकको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले पुराना कपडालाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्नेगरी शुरु गरिएको यो अभियानमा सबै नगरवासीको साथ सहयोग अपेक्षा गरिएको बताउनुभयो । आगामी दिनमा फुड बैंक समेत बिस्तार गर्ने योजना रहेको उहाँको भनाई थियो ।
“हाम्रो सानो सहयोगले पनि अरुलाई ठूलो खुसी मिल्छ,भौतिक पूर्वाधार विकास निर्माण भनेर मात्रै हुदैन्, मानवीय धर्म पनि हामीले बिर्सनु हुँदैन”, उहाँले भन्नुभयो । हुनेले नहुनेलाई सहयोग गर्नु नै मानवीयता भएकाले कपडा बैंकलाई सबैले सहयोग गर्ने विश्वास लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा स्थापना भएको कपडा बैंकमा कपडा संकलन गरेर नगर भित्रका विपन्न नागरिक र तत्कालै आवश्यक पर्ने स्थानमा वितरण गरीने बर्दघाट जेसीजका अध्यक्ष मोहन सापकोटाले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाले बिगतमा पनि जाडो याममा बिपन्न समुदायलाई चिसोबाट जोगाउन कपडा बितरण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस