२०८२ जेष्ठ २३, बिहिबार
24 खबर अपडेट

किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गर्दै रामग्रामका स्वास्थ्य संस्थाहरु

२०८२ जेष्ठ २१, मंगलबार प्रकाशित ( दिन अघि) १२० पाठक संख्या

मोहन पौडेल
परासी, २० जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुबाट किशोर किशारी मैत्री स्वास्थ्य सेवा प्रवाह गर्न थालिएको छ ।
किशोर किशोरी प्रजनन दरलाई घटाउने उद्देश्यले सरकारले सन् २००० देखि सुरु गरेको यो कार्यक्रम अन्र्तगत रामग्रामका स्वास्थ्य संस्थाहरुमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गर्न थालिएको हो ।
आर्थिक वर्ष २०७९।८० बाट किशोर किशोरी मैत्री स्वास्थ्य सेवा अभियान थालिएकोमा अहिलेसम्म अमरौट, शुक्रौली, हकुइ र उनवछ स्वास्थ्य चौकी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भइसकेको रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस आर्थिक वर्षमा नगरपालिका भित्रका थप आठ वटा स्वास्थ्य संस्थामा किशोर किशोरीमैत्री स्वास्थ्य सेवा सुरु गरी घोषणा गर्ने कार्यक्रम रहेको छ । रामग्राममा आठ वटा स्वास्थ्य चौकी,सात वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा शहरी स्वास्थ्य केन्द्र गरी १७ वटा स्वास्थ्य संस्था रहेका छन् ।
सोही अभियान अन्र्तगत सोमबार वडा नं.८ स्थित शहरी स्वास्थ्य केन्द्र चम्किपुरमा पनि किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धि अभिमुखीकरणसहित सेवा सुरु गरिएको छ । यो सेवाबाट किशोर किशोरीहरुको स्वास्थ्य समस्यालाई समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

H2

किशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रवाहले उनीहरुलाई पर्ने प्रजनन स्वास्थ्य समस्यामा सुधार हुने जनस्वास्थ्य निरीक्षक हरिजनले बताउनुभयो । उहाँका अनुसार अब त्यहाँ तालिम प्राप्त कर्मचारीबाट किशोर किशोरीले सेवा पाउनेछन् ।
उहाँले भन्नुभयो, ‘१० देखि १९ वर्षको उमेर तीव्र विकासको उमेर हो, यो उमेरमा उनीहरुमा शारीरिक,मानसिक परिवर्तहरु आउँछन्,सोचाइमा पनि परिवर्तन भइरहेको हुन्छ, किशोर किशोरीहरुले आफ्ना समस्या भन्न हिच्किचाउने हुन्छन्, यस्तो उमेर अवस्थामा आउने सबै समस्याहरुको समाधानका लागि परामर्श र आवश्यक परे औषधी उपचारका लागि पनि स्वास्थ्य संस्थाबाट सहयोग हुन्छ ।’
स्वास्थ्य संस्थामा गोपनियतालाई पुरै ख्याल राखेर किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गरिने शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले बताउनुभयो । आफ्नो घर नजिकै रहेका स्वास्थ्य संस्थाबाट यो सेवा पाउने भएकोले अब किशोर किशोरीले किशोरावस्था र प्रजनन स्वास्थ्यका बारेमा ढुक्कसँग बुझ्न र समस्या समाधानको खोजी गर्न संकोच मान्न नहुनेमा उहाँले जोड दिनुभयो । रामग्राम नगरपालिकालाई आगामी आर्थिक वर्ष भित्रमा किशोर किशोरी मैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस