२०८२ जेष्ठ २०, सोमबार
24 खबर अपडेट

अपांगताले छेक्न सकेन आत्मनिर्भरता तर्फको यात्रा

२०८२ जेष्ठ १४, मंगलबार प्रकाशित ( दिन अघि) २०३ पाठक संख्या

मोहन पौडेल
परासी, १३ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ अठलहीँकी २२ वर्षीय अंगिरा हरिजन र २५ वर्षीय जोगिन्द्र हरिजन दम्पत्ती बोल्न र सुन्न सक्नुहुन्न । अपांगताका बाबजुद सीप र प्रविधिको सहयोगले भने दुवै जना स्वरोजगारतर्फ अघि बढ्दै हुनुहुन्छ।
जन्मजातै बोल्न र सुनाईमा समस्या भएकोले गाउँमै रहेको त्रिभुवन मावि बेलाटारीस्थित बहिरा स्रोत कक्षामा ५ कक्षासम्म अध्ययन गरेका यी दम्पत्तीले थप अध्ययन गर्न नसकेपछि कमाइ नहुँदा दैनिक जीवनयापनमा समस्या भोग्नुपर्यो । एउटै विद्यालयमा सँगै अध्ययन गरेका दुवै जनाको समस्या एउटै भएकोले उहाँहरुले आपसमै विवाह पनि गर्नुभयो ।

1

कृषिमा निर्भर घरको कमजोर आर्थिक अवस्था र साथीभाइले पैसा कमाएको देख्दा यो दम्पत्तीलाई पनि आयआर्जन गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । दुवैको सपना पूरा गर्ने माध्यम बनेर आया,े सुनवल सामुदायिक विकास केन्द्र, जसले युनाइटेड मिसन टु नेपाल(यूएमन)को आर्थिक सहयोगमा अपांगता समावेशी विकास परियोजना सञ्चालन गरिरहेको छ ।
सोही परियोजनाले अंगिरासहित प्रतापपुरका धेरै अपांगता भएका व्यक्तिलाई तालिम र सिलाइ मेसिन दिएर स्वरोजगार बन्न प्रेरित गरेको हो । परियोजनाले शुरुमा तीन महिनाको आधारभूत सिलाइ तालिम र त्यसपछि पुन ः तीन महिनाको अतिरिक्त तालिम दिएपछि अंिगराले सहजै महिलाले लगाउने कपडाहरु सिलाउन सक्ने हुनुभयो ।
त्यसपछि परियोजनाले सिलाइ मेसिन पनि सहयोग गरेपछि अंगिराले सिलाइ पेशालाई व्यवसायिक रुपमा अघि बढाउन थाल्नुभयो । अहिले गाउँघरकै महिलाहरु कपडा सिलाउन घरमै आउने गरेको अंगिराका बुबा(ससुरा) स्वरुप हरिजन बताउनुहुन्छ ।
व्यवसायिक रुपमै सिलाइ पेशाबाट अहिले अंगिराले आयआर्जन गर्न थालेको उहाँले बताउनुभयो । घरमै सिलाइ गर्दै आउनुभएकी अंगिरा अव पसल खोलेर व्यवसाय अघि बढाउने योजनामा हुनुहुन्छ ।
प्रतापपुर–८ गंगापुरका ३० वर्षीय जोगिन्द्र भेडियारले पनि सिलाइबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । बेलाटारी बजारमा घुम्ती पसलमा सिलाइ व्यवसाय गर्र्दै आउनुभएका भेडिहारमा शारीरिक अपांगताको समस्या छ ।
जन्मेको एक वर्षकै उमेरमा दुर्घटनामा परी अपांग हुन पुग्नुभएका जोगिन्द्रले कक्षा ६ सम्मको अध्ययन गर्नुभएको छ । घरको आर्थिक अवस्था कमजोर रहेका कारणले आफ्नो अध्ययनलाई अघि बढाउन नसक्नुभएका जोगिन्द्रले सानै उमेरमा सिलाइ सिकेर व्यवसाय शुरु गर्नुभएको थियो ।

22

सामान्य आयआर्जन गर्दै विगत १८ वर्षदेखि सिलाइ व्यवसाय गर्दै आउनु भएका जोगिन्द्रलाई दुई वर्ष अघि अपांगता समावेशी विकास परियोजनाले सिलाइको सीप र मेसिन सहयोग गरेपछि उहाँको आम्दानी बढेको छ।
“अहिले मेरो आम्दानी राम्रै छ, दैनिक ४०० रुपैयाँ बचत गर्छु, छोराछोरीको पढाइ, घर खर्च सबै यसैबाट चलाइरहेको छु”, उहाँले भन्नुभयो । अपांगता भएपनि बुबाआमा, एक छोरी, दुई छोरा र आफूसहित ५ जनाको परिवार उहाँकै आम्दानीमा निर्भर छ ।
विगतमा खुट्टाबाट चलाउने मेसिनले धेरै मेहनत र थोरै संख्यामा कपडा सिलाउने गरेको तर परियोजनाले विद्युतबाट चल्ने मेसिन दिएपछि कपडा सिलाउन धेरै सजिलो हुनुका साथै दिनकै ४÷५ वटा सर्ट प्वाइन्ट सिलाउने गरेको उहाँको भनाइ छ । जोगिन्द्रको पसलमा धेरै युवायुवतीले सिलाइ सिकेर रोजगारी पनि गरिरहेका छन् ।
बेलाटारीस्थित गण्डक नहरको नजिकै झुपडीमा बस्दै आउनुभएकी ६० वर्षीय राजकुमारी चौधरीको दश वर्षअघि एक्कासी आँखाको दृष्टि गुम्यो । धेरै ठाउँमा उपचार गर्दा पनि आँखाको दृष्टि नर्फकिएपछि उहाँको दैनिकी नै असहज बन्न पुग्यो । कृषिमै जीवन व्यतित गर्नुभइका उहाँका श्रीमान दशरथ दृष्टिविहीन श्रीमतीको रेखदेखमा व्यस्त हुनुपरेपछि आम्दानीको स्रोत नै गुम्यो ।
दुई वटा छोरा र बुहारीलाई गाउँको घर छोडेर नहरको नजिकै झुपडी बनाएर बस्दै आउनुभएका यी दम्पत्तीलाई पनि अपांगता समावेशी विकास परियोजना बरदान भनेर आयो । उमेर ढल्कीँदै जानु र आम्दानीको स्रोत पनि नभएपछि दैनिक जीवन यापनमै समस्या भोग्न बाध्य राजकुमारीलाई परियोजनाले ४ महिना अघि आयआर्जन सहयोग कार्यक्रम मार्फत भैँसी सहयोग गरेको छ ।

3

आफ्नो खेत नहुँदा अधिँयामा खेती गर्दै गुजारा चलाउँदै आएका यी दम्पत्ती अहिले भैँसीको स्यहारमा व्यस्त हुनुहुन्छ । भैँसीको दुध विक्री गरेर आयआर्जन गर्ने र दैनिक जीवन चलाउन सहज हुनेमा उहाँहरु आशावादी देखिनुहुन्छ ।
जोगिन्द्र र राजकुमारी जस्तै अपांगता भएका व्यक्ति तथा उनीहरुका परिवारको आयआर्जन, सीप विकास तथा जीविकोपार्जनमा सहयोग गर्दै उनीहरुको हकअधिकार सुनिश्चित गर्न विगत तीन वर्षदेखि जिल्लाको प्रतापपुर र पाल्हीनन्दनमा अपांगता समावेशी विकास परियोजना सञ्चालनमा छ । परियोजनाले उनीहरुको हकअधिकार सुनिश्तिताका लागि पैरवी गर्ने, अपांगता मैत्री नीति निर्माणमा स्थानीय सरकार तथा सरोकारवालासँग सहकार्य गर्ने तथा अपांगता भएका बालबालिकालाई शिक्षामा पहुँच बढाउन समेत पहल गर्दै आएको परियोजना संयोजक श्याम सुन्दर ढुंगानाले जानकारी दिनुभयो ।
समूदायको समावेशी विकासमा योगदान पुर्याउदै दुवै पालिका भित्रका सबै अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना हक अधिकार उपभोग गर्न पाउने अवस्थामा पुर्याउने परियोजनाको लक्ष्य हो ।
त्यसका लागि परियोजनाले अपाङ्गता भएका व्यक्तिरु र उनीहरुको परिवारलाई आर्थिक रुपले सक्षम बनाउने तथा व्यवसायिक ज्ञान र सीप वृद्धि गर्ने कार्य गर्दै आएको छ । परियोजना संयोजक ढुंगानाका अनुसार अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना हक अधिकार, सेवा सुविधा उपभोग गर्न पाउने र सेवा प्रदायकसँग समन्वय र सहकार्य गर्न सक्ने बनाउनतर्फ विभिन्न काम गरिएको छ ।
अपाङ्गतामैत्री पहुँचयुक्त वातावरणमा समान शैक्षिक अवसरहरु विकास गर्नका लागि पनि परियोजनाले शिक्षामा समान अवसर, भर्नामा थपिएका वालवालिका, अपाङ्गतामैत्री बिद्यालय, परिवार तथा शिक्षकहरु लगायत विद्यालयका विभिन्न समितिहरुसँग समाबेसी शिक्षा सवालमा अन्तरकृया तथा पैरवी गरिरहेको छ। सन् २०२८ सम्म अपाङ्गता भएका व्यक्तिहरु र उनीहरूका परिवारका सदस्यहरुको पहुँच र सहभागितामा हुने सबै अवरोधहरू हट्ने परियोजनाको विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस