मोहन पौडेल
परासी, ८ जेठ । पश्चिम नवलपरासी जिल्ला लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला बनेको छ ।
पूर्णखोप सुनिश्चितता निर्देशिकाले तोकेका सम्पूर्ण प्रक्रिया र राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततापछि पश्चिम नवलपरासी जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले आज परासीमा गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पश्चिम नवलपरासी जिल्लालाई यो वर्ष प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो ।
घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री सारुले पूर्ण खोप सुनिश्चितता अभियानले मानव संशाधन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । खोपको माध्यमबाट रोग प्रतिरोधात्मक क्षमताको विकास हुने उल्लेख गर्दै मन्त्री सारुले शारीरिक र मानसिक स्वास्थ्य र सामाजिक स्वास्थ्य मानवीय जीवनको महत्वपूर्ण पक्ष भएकोले यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
भौतिक पुर्वाधारसँगै मानवीय विकास पनि महत्वपूर्ण हुने भएकोले प्रदेश सरकारले मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । रोग लागेर अस्पताल जानुपर्ने भन्दा पनि रोग लाग्न नदिने अभियानमा प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय नसर्ने रोग भयाभव बन्दै गइरहेको भन्दै मन्त्री सारुले नसर्ने रोग नियन्त्रणमा लगानी गर्नुपर्दा सरकारको ठूलो व्यय भार थपिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय परासीका प्रमुख अंगद बहादुर शाहीले नवलपरासी जिल्लामा हाल खोप पाइरहेका पन्ध्र महिना मुनिका ६ हजार ४५७ जना र पूर्ण खोप प्राप्त गरेका १६ देखि ५९ महिनासम्मका १८ हजार ४५९ जना बालबालिका मध्ये यसवर्ष घरधुरी सर्वेक्षण तथा खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्यांक संकलन गरी खोप लगाइएको जानकारी दिनुभयो ।
घरधुरी सर्वेक्षणबाट खोप लगाउन छुटेका १६ देखि ५९ महिनासम्मका १७३ जना बालबालिकालाई खोपको पूर्ण मात्र पूरा गरी पूर्ण खोप सुनिश्चित गरिएको शाहीले बताउनुभयो । नवलपरासी जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको यो एघारौँ वर्ष हो ।
यसअघि वि.स.२०७० फागुन १४ गते नवलपरासी जिल्लालाई नेपालकै पहिलो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुपर्ने प्रावधान रहेको स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शर्माले बताउनुभयो । यस घोषणाले पूर्ण खोप सुनिश्चित राष्ट्र बनाउने सरकारको लक्ष्यलाई थप बल पुग्ने उहाँको भनाइ थियो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री खड्ग बस्नेत, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी,स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठ,स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रोशनलाल चौधरी, नेपाली कांग्रेस नवलपरासीका कार्यबाहक सभापति विक्रम यादव,सामुदायिक स्वास्थ्य स्वयमसेविका सञ्जालकी जिल्ला अध्यक्ष सरस्वती सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको स्वास्थ्य कार्यालयका खोप अधिकृत ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । कार्यक्रममा पूर्णखोप सुनिश्चित जिल्ला बनाउने अभियानमा सहयोग गर्ने स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयमसेविका,साझेदार संघ संस्था लगायतलाई सम्मान पनि गरिएको थियो ।
C1