कृष्ण ढकाल
बर्दघाट,५ जेठ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. १ रुपौलियास्थित रुपौलिया महिला बहुउद्धेशीय सहकारी संस्थाले एक करोड ६० लाख २८ हजार २ सय ६१ रुपैयाँ अपचलन गरेको रहस्य खुलेको छ ।
वि.स.२०५७ सालमा स्थापना भएको उक्त सहकारीको पछिल्लो लेखापरिक्षण गर्ने क्रममा १ करोड ६० लाख २८ हजार रुपैयाको हिसाब नभेटिएपछि खैलाबैला मच्चिएको छ ।
रकम अपचलन गोप्य रुपमा मिलाउन संस्थाकी ब्यवस्थापक र कम्प्युटर अपरेटरले सञ्चालकहरु समेत बसेर लेखापरिक्षण गर्ने क्रममा नदेखीएको हिसाव किताब मासिक किस्ताबन्दीका रुपमा दुईजनाले बाँडेर दिनेगरी सहमति भएर गरेको निर्णयमा हस्ताक्षर गरेको बिषयले झन संस्थामा ठूलो रकमको आर्थिक अपचलन भएको हुन सक्ने भन्दै शेयर सदस्यहरुले गम्भीर आक्रोश पोखेको बताइएको छ ।
संस्था दर्ता हुनु भन्दा ५ बर्ष पहिले समुहमा रकम जम्मा गर्दा देखि गत कार्तिक सम्म नै रुपौलिया महिला बहुउद्धेशीय सहकारी संस्थाको ब्यवस्थापकमा ईन्द्रीरा उपाध्याय रहनु भएको थियो ।
कम्प्युटर अपरेटर टपनारायण चौधरी २०७३ साल देखि सोही संस्थामा रहेर संस्थाको हिसाब किताब राख्दै आउनु भएको थियो । दुबै कर्मचारीहरुले गत असारमा आ–आफ्नो समस्या देखिएर संस्थामा काम गर्न नसक्ने भन्दै राजिनामा दिएपछि संस्थाले नयाँ कर्मचारी राखेको ब्यवस्थापक ईन्द्रीरा उपाध्यायको भनाई छ ।
यस विषयमा संस्थाकी ब्यवस्थापक उपाध्यायसंग बुझदा आफुलाई अध्यक्ष र समाजका केहि समुहको टोलिले जबरजस्ती कोठामा राखेर हस्ताक्षर गराएको आरोप लगाउनु भएको छ ।
उहाँले लेखापरिक्षकले १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैयाको हिसाब नआएको बताएपछि खोज्दा ९० लाख जती कम्प्युटरमा चढाउन छुटेको भेटीएको र यस आर्थिक वर्षमा पनि २० लाख कम्प्युटरमा चढाउन छुटेको भेटीएको बताउँदा बताउँदै हस्ताक्षर नगरे मुद्धाहाल्ने,सामाजिक वहिस्कार गर्ने जस्ता धम्की दिएर जवरजस्ती हस्ताक्षर गर्न लगाएको ब्यवस्थापक उपाध्यायको भनाई छ ।
हस्ताक्षर गर्न लगाइएको निणर्य पुस्तिकामा कम्प्युटर अपरेटर टपनारायण चौधरीले ल्याएको प्रस्ताव अनुसार १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैया मध्ये ब्यवस्थापकले ५५ प्रतिशत र कम्प्युटर अप्रेटरले ४५ प्रतिशत रकम संस्थालाई बुझाउने गरी असुल उपर गर्ने भनी लेखिएको छ ।
त्यो रकम तीन –तीन महिनामा किस्तावन्दी गरी लिने निर्णय गरिएको छ । जस्मा ब्यवस्थापकले १३ लाख र अप्रेटरले ११ लाख किस्ता रकम बुझाउने गरी जवरजस्ती हस्ताक्षर गर्न लगाएर कम्प्यूटर अप्रेटरले आफ्नो सोझोपनको फाईदा लिएको ब्यस्थापक उपाध्यायकोे आरोप छ ।
संस्थाको अहिले २ करोड ८० लाख बराबरको शेयर पुर्जी रहेको संस्थाकी अध्यक्ष ममता भारतीले बताउनु भएको छ ।
४ बर्षे कार्यकाल रहने उक्त संस्थामा आगामी पौष २८ गते अध्यक्ष भारतीको कार्य अवधि सकिँदै छ । तर ४ बर्ष सम्म संस्थाको एउटै लेखापरिक्षक राखेर कर्मचारीद्धय उपाध्याय र चौधरीले सञ्चालक सदस्यहरुलाई भ्रममा पार्दै रकम अपचलन गर्दै आएको अध्यक्ष भारतीले जिकिर गर्नुभयो । दुवै कर्मचारी मिलेर परासीस्थित पञ्चदेव गुप्तालाई पटक–पटक लेखापरिक्षण गर्न जिम्मादिने निर्णय तयार गर्ने र अर्काे लेखापरिक्षक राख्न समितिले खोज्दा बिभिन्न बहानामा अरुलाई नदिने गरी समितिलाई नै गुम्राहामा पार्ने गरेको अध्यक्ष भारतीको भनाई छ ।
यस पटक समितिले कर्मचारीहरुको भनाईलाई नमानेर जवरजस्ती अर्काे लेखापरिक्षक राखेर अडिट गर्न शुरुगरेपछि दुबै जनाले बिभिन्न बहाना बनाएर राजिनामा दिएको र लेखापरिक्षण गर्दा १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैया अपचलन गरेको भेटिए पछि उनीहरुकै सहमतिमा ५५ र ४५ प्रतिशतले असुल उपर गर्ने गरी निर्णय भएको अध्यक्ष भारतीले बताउनु भएको छ ।
पहिलेको पञ्चदेव गुप्ताले गरेको लेखापरिक्षण रिर्पोटमा २ करोड २६ लाख ऋण लगानी भएको देखाएपनि १ करोड ६७ लाखको ऋणी को हो ? भन्ने नै नदेखाइकन ऋण लगानी गरेको पुर्जी देखाएको अध्यक्ष भारतीले बताउनु भएको छ ।
C1