मोहन पौडेल
परासी,१ जेठ । पश्चिम नवलपरासीका सात स्थानीय तह मध्ये सरावल गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार सरावलको बेरुजु १ दशमलव ४८ प्रतिशत रहेको छ ।
प्रतिवेदन अनुसार सरावल गाउँपालिकामा आ.ब.२०८०।०८१ मा एक अर्ब २८ करोड ९० लाख ६८ हजारको लेखापरीक्षण गर्दा एक करोड ९० लाख ३३ हजार बेरुजु देखिएको हो । गत वर्षको तुलनामा बेरुजु बढेको भएपनि यसवर्ष जिल्लाका अन्य स्थानीय तहको तुलनामा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा सरावल पहिलो नम्बरमा पर्न सफल भएको छ । गत वर्ष जिल्लामा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमध्ये सरावल दोस्रो नम्बरमा थियो ।
महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनका अनुसार गत वर्ष सरावल गाउँपालिकाको बेरुजु १ दशमलव ११ प्रतिशत थियो । गत वर्ष सरावलको रु एक अर्ब २९ करोड ५० लाख ३९ हजारको लेखापरीक्षण गर्दा एक करोड ४३ लाख ३३ हजार ३०० रुपैयाँ बेरुजु रहेको थियो ।
आर्थिक पारदर्शिता, मितव्ययिता र सुशासनलाई कडाइका साथ पालना गर्दै आएकोले सरावललाई जिल्लामै सबैभन्दा कम बेरुजु भएको गाउँपालिका बनाउन सफल भएको पालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताउनुभयो । “बेरुजु फस्र्योट अभियान चलाउँदै ऐन,नियमको पालना गरिएकोले यो सफलता प्राप्त भएको हो, यसमा कर्मचारी र जनप्रतिनिधिको महत्वपूर्ण भूमिका छ”, उहाँले भन्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राले साविक गाविस हुँदादेखि सर्दै आएको बेरुजुलाई घटाउन पारदर्शी नेतृत्व,लेखा समितिको क्रियाशीलता र प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरुको सक्रियता पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गाउँसभाबाट लेखा समिति गठन गरी नियमित गर्नुपर्ने बेरुजुहरु प्रमाणसहित महालेखालाई पेश गरेका थियौँ,आगामी दिनमा पनि बेरुजु न्यूनीकरण गर्ने गरी हामी लागिरहेका छौँ ।”
प्रतिवेदन अनुसार पश्चिम नवलपरासी जिल्लाका सात स्थानीय तहमध्ये पाल्हीनन्दन र सुस्ता गाउँपालिकाले केही सुधार गरेपनि अन्य सबै पालिकाको बेरुजु बढेको देखिन्छ ।
बर्दघाट नगरपालिकाको यसवर्ष एक दशमलव ५३ प्रतिशत बेरुजु रहेको छ। ग्त वर्ष एक दशमलव ४८ प्रतिशत थियो । यसवर्ष बर्दघाटको रु दुई अर्ब पन्ध्र करोड ३८ लाख १९ हजारको लेखापरीक्षण गरिएकोमा तीन करोड २९ लाख ५५ हजार रुपैयाँ बेरुजु रहेको छ।
सुस्ता गाउँपालिकाको बेरुजु एक दशमलव ६४ प्रतिशत रहको छ । गत वर्ष भने १ दशमवल ८५ प्रतिशत रहेको थियो । यसवर्ष सुस्ताको एक अर्ब १० करोड ५८ लाख ६१ हजार लेखापरीक्षण गरिएकोमा रु एक करोड ८१ लाख ७० हजार रुपैयाँ बेरुजु रहेको छ ।
रामग्राम नगरपालिकाको बेरुजु दुई दशमलव ०७ प्रतिशत रहेको छ । गत वर्ष १ दशमलव ८२ प्रतिशत थियो । रामग्र्र्रामको यसवर्ष रु दुई अर्ब १३ करोड २३ लाख ४६ हजारको लेखापरीक्षण गरिएकोमा चार करोड ४२ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
प्रतापपुर गाउँपालिकाको बेरुजु तीन दशमलव ७० रहेको छ । गतवर्ष दुई दशमलव ५९ प्रतिशत थियो । प्रतापपुरको यसवर्ष एक अर्ब ४६ करोड ५४ लाख ४५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा पाँच करोड ४१ लाख ७९ हजार बेरुजु देखिएको छ ।
पाल्हीनन्दन गाउँपालिकाले यसवर्ष उल्लेख्य सुधार गरी बेरुजु घटाउन सफल भएको छ । गत वर्ष ९ दशमलव ७९ प्रतिशत बेरुजु रहेको पाल्हीनन्दनमा यस वर्ष घटेर ३ दशमलव ९२ प्रतिशत पुगेको छ । यसवर्ष एक अर्ब ८ करोड १६ लाख ६० हजार रुपैयाँको लेखापरीक्षण गर्दा पाल्हीनन्दनमा चार करोड २३ लाख ६८ हजार बेरुजु देखिएको छ ।
सुनवल नगरपालिकामा सबैभन्दा बढी अर्थात ५ दशमलव ३८ प्रतिशत बेरुजु देखिएको छ । गत वर्ष शून्य दशमलव ८९ प्रतिशत मात्र थियो । सुनवलको यसवर्ष दुई अर्ब एक करोड ३१ लख ७१ हजारको लेखापरीक्षण गर्दा दश करोड ८३ लाख ९२ हजार रुपैयाँ बेरुजु देखिएको छ।
C1