मोहन पौडेल
परासी, २५ वैशाख । भारतबाट आयातित गुणस्तरहीन धानको बीउ खुलेआम बेचविखन हुँदा स्वदेशी बीउ व्यवसायी मारमा परेका छन् । हार्डवेयरदेखि खाद्यन्न पसलमा समेत भारतबाट अवैध रुपमा आयातित बीउ बेचबिखन भइरहेको नवलपरासीका बीउ व्यवसायीहरुको गुनासो छ ।
नवलपरासी बीउ व्यवसायी संघले आज परासीमा आयोजना गरेको नववर्ष २०८२ को भित्तेपात्रो विमोचन कार्यक्रममा सहभागि व्यवसायीहरुले बजारमा खुलेआम गुणस्तरहीन बीउ विक्री वितरण हुँदा पनि सम्बन्धित निकाय मौन बसेको दाबी गरे ।
नेपाल सरकारले सूचीकृत गरेको बीउ अनुमति लिएर मात्र विक्री वितरण गर्न पाउने व्यवस्था छ तर हाटबजारदेखि, किराना, हार्डवेयर पसलमा समेत भारतीय कमसल बीउ बेचविखन गर्दा एग्रोभेट व्यवसायी मारमा परेको बीउ व्यवसायी संघ लुम्बिनी प्रदेश सदस्य बिमल ढकालले बताउनुभयो ।
नेपालमा आवश्यक मात्रामा र समयमै बीउ उपलब्ध नहुने समस्याकाबीच स्वदेशी बीउ भन्दा भन्सार छलेर ल्याएको बीउ सस्तोमा पाइने भएकोले कृषकहरु पनि भारतीय बीउमै आकर्षित हुन बाध्य रहेको उहाँले बताउनुभयो । सीमा क्षेत्रमा अवैध बीउ आयातलाई कडाइ गरी नेपाली कृषकले रुचाएको बीउ सूचीकृत गर्नुपर्ने ढकालको माग थियो ।
संघका जिल्ला अध्यक्ष चन्द्रप्रकाश गुप्ताले स्वदेशी बीउको गुणस्तर वृद्धिमा सरकारले व्यवसायीलाई साथ दिनुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले सूचीकृत गरेको धानको बीउमा कृषक आकर्षित नहुँदा बीउ व्यवसायी संकटमा परेको उहाँको भनाई थियो ।
विषादी व्यवसायी संघका जिल्ला अध्यक्ष देवेश मिश्राले हाटबजार,किराना,खाद्यन्न लगायतका पसलमा बीउबीजनको विक्री वितरण रोक्न माग गर्नुभयो । एग्रोभेट व्यवसायी मनिष तिवारीले अनुगमन गर्दा कुनै एक दुई पसललाई मात्र निशाना बनाएर गर्ने गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले सबै एग्रोभेटको समान रुपमा अनुगमन गर्न र सीमा क्षेत्रबाट हुने अवैध आयातलाई नियन्त्रण गर्न माग गर्नुभयो । व्यवसायीहरुले पुनःताजगी तालिम समेत आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकारसँग आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले किसानमैत्री कानून निर्माण हुन नसक्दा कृषि प्रधान देशका किसानले समस्या भोग्नुपरेको भन्दै कानून निर्माणमा अग्रणी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृषि विकास निर्देशनालयका वागवानी विकास निर्देशक सन्देश धितालले व्यवसायीले राज्यको ऐन कानूनको पालना गरेर मात्र व्यवसाय गर्नुपर्ने भन्दै गैरकानूनी कारोबार गर्नेलाई सरकारले नियन्त्रण गर्ने उल्लेख गर्नुभयो ।
कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रविन्द्रनाथ चौवेले जिल्लाको प्रतापपुर क्षेत्रमा भारतबाट भन्सार छली भित्राइएको बीउ बिषादी किराना पसलहरुमा बेचविखन भइरहेको पाइएपछि तत्काल अनुगमन गरी अव उप्रान्त बिक्री वितरण नगर्न चेतावनी दिएको बताउनुभयो । नेपाली बीउलाई उन्नत र गुणस्तर बनाउनुपर्ने माग जायज रहेको बताउँदै उहाँले भारतीय जातका सूचीकृत नभएका बीउ बेचबिखन गर्न भने नपाइने उल्लेख गर्नुभयो ।
संघका जिल्ला अध्यक्ष चन्द्रप्रकाश गुप्ताको अध्यक्षतमा भएको उक्त कार्यक्रम संघका निवर्तमान अध्यक्ष उमाशंकर चौधरी, सचिव मधुसुधन पौडेल, कोषाध्यक्ष रमेश प्रसाद गुप्ता लगायतले पनि आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
C1