२०८२ बैशाख २४, बुधबार
24 खबर अपडेट

सरावलमा बुद्धजयन्तीको भव्य तयारी, भोजन दानदेखि पुस्तक विमोचनसम्मका कार्यक्रम

२०८२ बैशाख २३, मंगलबार प्रकाशित ( दिन अघि) ३०० पाठक संख्या

मोहन पौडेल
परासी, २३ वैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा २५६९ औँ बुद्धजयन्ती विविध कार्यक्रमका साथ भव्य रुपमा मनाइने भएको छ । गाउँपालिकाको वडा नं.२ जावास्थित प्राचीन ककरपत्त नगरलाई चिनाउने उद्देश्यका साथ बुद्धजयन्तीका कार्यक्रमहरु तय गरिएको गाउँपालिकाले जनाएको छ ।
ककरपत्त नगरमा मंगलबारदेखि नै बुद्धजयन्तीका कार्यक्रमहरु शुरु भईसकेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो । मुख्य रुपमा यही वैशाख २५ गते भिक्षुहरुलाई भोजनदान कार्यक्रम गरिनेछ भने वैशाख २९ गते बुद्धजयन्तीको दिन बुद्ध महोत्सवको रुपमा मनाउने कार्यक्रम छ । सोही दिन सरावल गाउँपालिका भित्रका बुद्ध स्थलको बारेमा प्रकाशन गरिएको पुस्तक समेत विमोचन गरिने छ ।
गाउँपालिका अध्यक्ष चौधरीका अनुसार बुद्धजयन्तीलाई भव्य बनाउन मंगलबार स्थानीयबासीहरुसँग तयारी बैठक गरि कार्यविभाजन गरिएको छ भने भोली बुधबार ककरपत्त नगर क्षेत्र सरसफाइ कार्यक्रम तय गरिएको छ ।
वैशाख २५ गते शंकरनगर विहारबाट आउने भिक्षुहरुलाई सामूहिक भोजनदान गर्ने कार्यक्रम छ भने २८ गते महिलाहरुबीच विभिन्न खेलका कार्यक्रम पनि आयोजना गरिएको छ ।
सरावल–२ जावा गाउँमा अवस्थित यस क्षेत्रमा विश्वमै लोपोन्मुख बुद्धकालीन वनस्पति कोलवृक्ष बगैँचा रहेको छ। भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको प्राचीन ककरपत्त नगरका रुपमा यस क्षेत्रको संरक्षण गरिएको छ । तत्कालीन कोलीय गणराज्य अन्तर्गतको ककरपत्त नगरमा गृहस्थलाई सन्देश दिएको हुँदा संसारकै गृहस्थले यस स्थानमा आएर भगवान् बुद्धको सन्देश सुन्न सक्ने र मुक्ति पाउने स्थलका रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।
पुरातत्व विभागले समेत यस क्षेत्रलाई प्राचीन स्मारकका रुपमा संरक्षण गर्ने गरी राष्ट्रिय सम्पदामा सूचीकृत गरेको छ । विश्वकै ध्यान तान्न सक्ने सम्भाव्य धार्मिक पर्यटन क्षेत्रका रुपमा यो क्षेत्रलाई लिइएको छ।
बुद्ध दर्शनका अनुसार कोलीय पुत्र दीर्घजानुको नामले जावा गाउँ रहन गएको थियो । भगवान् बुद्ध बेलाबेला गाउँ घुम्दा यस स्थानमा धर्म देशना गर्ने क्रममा भगवान् चरिया गर्दै ककरपत्त आएको किंवदन्ती छ । सोही बेला ककरपत्तका नगरप्रमुख कोलिय पुत्र दीर्घजानुले भगवान्समक्ष उपस्थित भई आफूहरु गृहत्याग गरी भिक्षु हुन नसक्ने बताउँदै सामान्य गृहस्थहरु कसरी मुक्तिको मार्गमा जान सक्छन् भन्ने आग्रह गरेका थिए।
भगवान् बुद्धले दीर्घजानुको आग्रहलाई स्वीकार गर्दै गृहसुख सन्देश सुनाएको यस क्षेत्रका अध्ययता बेचु गौड बताउनुहुन्छ । उहाँका अनुसार यो कुरा त्रिपिटकको अगुत्तर निकायको दीर्घजानु सुत्तमा उल्लेख छ। गृह सुख सन्देश दिँदा भगवान् बुद्धले गृहस्थको इहलौकिक अर्थात् जीवित हुँदासम्म र पारलौकिक अर्थात् मरणोपरान्त गरी दुई भागमा सन्देश सुनाएका थिए ।
ककरपत्त क्षेत्रमा हाल सभाहल, बालउद्यान, भगवान् बुद्धको मूर्ति, बुद्धको मूर्तिसँगै बुद्धले सन्देश दिँदै गरेको दीर्घजानुको मूर्तिसमेत राखिएको छ । ककरपत्त क्षेत्रमा नै कमलपोखरी रहेको छ । ककरपत्त नगरसहित सरावल गाउँपालिकामा चार वटा बुद्ध स्थलहरु रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस