रेनुका चौधरी,
रामग्राम,१० वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ९ पूर्ण संस्थागत प्रसुती सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता र दिगोपना वडा घोषणा गरीएको छ ।
तोकिएका सम्पूर्ण मापदण्ड पूरा भएपछि आधारभूत स्वास्थ्य सेवा केन्द्र जोकवारको आयोजनामा आज एक कार्यक्रम गरि वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरीएको हो ।
रामग्राम ९ का वडा अध्यक्ष भोजनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रका केन्द्र प्रमुख रहिसुन निशाले वडामा २०८० चैतदेखि २०८१ फागुनसम्म ३५ जना सुत्केरी भएको जानकारी दिनुभयो ।
सबै सुत्केरीलाई दिनुपर्ने सम्पूर्ण सेवा सुविधा, नियमित स्वास्थ्य परिक्षण, गर्भवती, सुत्केरी तथा नवजात शिशु र ५ वर्ष मुनिका बालबालिकालाई दिनुपर्ने सम्पुर्ण खोपहरु प्रदान गरिएको स्वास्थ्य सेवा केन्द्रका अहेव सम्झना यादवले जानकारी दिनुभयो ।
पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा तथा पूर्ण खोप सुनिश्चिता, दिगोपना राख्नलाई मासिक गर्भवती चेकजाँच ९० प्रतिशत भन्दा माथि हुनुपर्ने, टिटानस विरुद्ध खोप वितरण लगायत गर्भवती, सुत्केरी तथा बालबालिकालाई दिनुपर्ने औषधी, सेवा सुविधाहरु प्रदान गरेको हुनुपर्ने केन्द्रका केन्द्र प्रमुख निशाले जानकारी दिनुभयो ।
पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा २०८० देखि शुरु भएको र यसलाई हरेक वर्ष निरन्तरता दिने वडा अध्यक्ष यादवले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा वडा सदस्य शोभा चौधरी, शान्ति बाल आमा समुहका अध्यक्ष विन्दा ढाडी, वडा स्वास्थ्य स्वंसेविका ज्योतिमाया ढुंगाना, वेस नेपालका तिर्थराज ढुंगाना, जेष्ठ नागरिक सदस्य विद्या निधि पाण्डे लगायतले मनतव्य व्यक्त गर्नुभएको थियो ।
C1