परासी, २ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पश्चिम नवलपरासी आउनुभएको छ । मंगलबार नवलपुरबाट दाउन्ने सडक खण्ड हुँद बर्दघाट आउनुभएका प्रचण्डलाई बर्दघाटस्थित त्रिवेणी चोकमा पार्टीका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरिरहेको हुलाकी राजमार्ग केन्द्रीत तराई मधेस जागरण अभियान अन्र्तगत पश्चिम नवलपरासीका विभिन्न स्थानमा हुने जनसभा तथा अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड मंगलबार नवलपरासी आउनुभएको हो ।
बर्दघाटस्थित उक्त पार्टीको नगर पार्टी कार्यालयमा पत्रकारसँग संक्षित प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले पूर्वपश्चिम राजमार्ग अन्र्तगत निर्माणाधिन दाउन्ने खण्डको अवस्था हेर्न बुझ्न पनि सडक मार्ग हुँदै आएको सुनाउनुभयो ।
“यो बाटोको बिषयमा विभिन्न चर्चा परिचर्चा थिए,बाटो छिचोल्नै सकिँदैन्, दुम्किबास बाट १०÷१२ घण्टा लाग्छ भन्ने पनि थियो,भरतपुर नै फर्किएर भैरहवा हुँदै जाने की भन्ने पनि थियो तर जति घण्टा लाए पनि दाउन्नेबाटै जानुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो ।
दाउन्ने खण्ड विस्तारको कामले पछिल्लो समय गति लिएको आफूले पाएको बताउँदै अध्यक्ष प्रचण्डले यस सडकको विषयमा सदनमा आवाज उठाउने बताउनुभयो । “जति बाटोको बिषयमा सुनिएको थियो, तुलनात्मक रुपमा सहज तरिकाले हामीहरु आईपुगेका छौँ”, उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरु अग्नि सापकोटा,देव गुरुङ,कृष्ण बहादुर महरा लगायतका नेताहरू पनि पश्चिम नवलपरासी आउनुभएको छ । अभियानको क्रममा जिल्लामा आएका नेताहरुलाई पार्टीका स्थानीय कार्यकर्ताको घरमा बास बस्ने व्यवस्था मिलाईएको नेकपा माओावदी केन्द्रका जिल्ला इन्चार्ज भविश्वर तिवारी आजादले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्ड वेपत्ता पारिएका राजुराम पौडेलको घरमा बस्नुभएको माओबादी केन्द्र बर्दघाट नगर कमिटी अध्यक्ष तजेन्द्र पुर्जाले बताउनुभयो ।
बर्दघाटका राजुराम पौडेल विद्यार्थी नेता थिए ।उनलाई २०५८ साल फागुन २५ गते पोखराको नदिपुरबाट प्रहरीले गिरफतार गरी बेपत्ता परेको माओवादीको दाबी छ । तराई मधेश जागरण अभियान अन्तरगत बैशाख १ गते देखि नवलपुरको गैडाकोटबाट पुन सुरु भएको अभियान टोली मंगलवार बेलुका पश्चिम नवलपरासी आएसँगै भोली बुधवार सहिद स्मृति समुदायिक अस्पताल चौपत्ताको प्राङगणमा रहेको सहिद सुर्य विक्रम थापाको शालिकमा माल्य अर्पण गरेपछि अन्य कार्यक्रम शुरु हुने माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य गोपी ज्ञवालीले जानकारी दिनुभयो । अभियान अन्र्तगत भोली वैशाख ३ गते विहान प्रतापपुर गाउँपालिका–९ गंगापुरमा कार्यकरताको घरमा खाना खाने र दश बजे संघीय निर्वाचन क्षेत्र नं.१ के बेलाटारीमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै संघीय निर्वाचन क्षेत्र नं २ अन्तरगत पाल्हीनन्दन गाउँपालिकाको विष्णुपुरस्थित राधाकृष्ण माध्यमिक विद्यालयको प्राङगणमा दिउँसो २ बजे हुने जागरण सभालाई सम्बोधन गरि प्रचण्ड नेतृत्वको टोली सदरमुकाम परासी आउने कार्यक्रम छ ।
सदरमुकाम परासी स्थित परासी क्याम्पसमा दिउँसो ४ बजे पत्रकार, मानव अधिकारकर्मी, बुद्धजीवी, उद्योगी व्यवसायी, नागरिक समाज लगायतसंग अन्तरकृया गर्ने कार्यक्रम छ ।
C1