२०८१ चैत्र १, शनिबार
24 खबर अपडेट

‘सचेत उपभोक्ता र राज्यका निकाय जिम्मेवार भए उपभोक्ता अधिकार संरक्षण हुने’

२०८१ चैत्र १, शनिबार प्रकाशित ( घण्टा अघि) १०६ पाठक संख्या

मोहन पौडेल
परासी, २ चैत । सचेत उपभोक्ता,जिम्मेवार उत्पादक र विक्रेता एवं सरकारी सयन्त्रको सक्रियता भएमात्र उपभोक्ताको अधिकार संरक्षण हुनेमा जोड दिइएको छ । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच उपभोक्ता अधिकारको रक्षा र सम्बद्र्धनका लागि समन्वय र सहकार्यको आवश्यकता समेत औल्याईएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज पश्चिम नवलपरासीको भूमहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकार पक्षहरुले उक्त कुरा बताएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले स्वच्छ र प्रतिस्पर्धी बजारको निर्माण गर्दै उपभोक्ता अधिकार संरक्षणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उहाँले आम उपभोक्ता, उत्पादक, विक्रेता एवं राज्यका निकायहरु जिम्मेवार भएर प्रस्तुत हुने र निरन्तर खवरदारी गर्नुपर्नेमा उहाँको जोड थियो । प्रदेश सांसद जयसवालले तीनै तहका सरकारबीच समन्व र सहकार्य एवं भ्रष्टाचार मुक्त समाज भएमा उपभोक्ता ठगिनुपर्ने अवस्था नआउने जिकिर गर्नुभयो ।
सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले उपभोक्ता आफै सचेत नभएसम्म सरकारले मात्र चाहेर उपभोक्ताको अधिकार संरक्षण नहुने तर्क गर्नुभयो । सचेत उपभोक्ताले निरन्तर आवाज उठाउने र स्थानीय सरकारले स्वच्छ र प्रतिस्पर्धी बजार निर्माणका लागि थालेका अभियानलाई समाजले पनि अपनत्व ग्रहण गर्न सके आम उपभोक्ताले गुणस्तर वस्तु तथा सेवाको उपभोग गर्न पाउने उहाँको भनाई थियो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले बजारको अवस्था, उपभोक्ताको अवस्था, मञ्चले गरेका पहल लगायतका विषयमा प्रकाश पार्दै उपभोक्ता हित संरक्षणको कानून हुँदाहुँदै पनि बजार सुरक्षित नरहेको बताउनुभयो । कानूनको फितलो कार्यान्वयनले बजारमा उपभोक्ता ठगी बढ्दो अवस्थामा रहेको उहाँको भनाई थियो । केन्द्रीय सदस्य ज्ञवालीले हरेक स्थानीय तहमा कानून र प्रत्येक जिल्लामा उपभोक्ता अदालतको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाईले खाद्य उद्योगको प्रवद्र्धन तथा गुणस्तरका लागि कार्यालयले काम गरिरहेको बताउँदै उपभोक्ता ठगी गर्ने विरुद्ध कारवाही गरिरहेको जानकारी दिनुभयो । उहाँले यस आर्थिक वर्षमा मात्रै १४ वटा मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाईएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले स्वच्छ र प्रतिस्पर्धी बजार निर्माणका लागि समय समयमा संयुक्त बजार अनुगमन, उपभोक्ता सचेतना लगायतका गतिविधि गरिरहेको बताउनुभयो ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निर्देशक कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश सदस्य माया खनाल,नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज पाण्डेय, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला उपाध्यक्ष भोजराज बराकोटी, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,सुनवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेल,उपभोक्ता हित संरक्षण मञ्च बर्दघाटका अध्यक्ष हुमनाथ आचार्य,रामनगर बजार विकास समितिका अध्यक्ष युवराज भुसाल, आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेय लगायतले बोल्दै दर्ता बिना सञ्चालनमा रहेका व्यवसायीलाई कानूनको दायरामा ल्याउन जोड दिनुभएको घरेलु तथा साना उद्योग कार्यालय परासीका उद्यम विकास सहजकर्ता मनोज चौधरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस