२०८१ पौष ७, आईतबार
24 खबर अपडेट

परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नयाँ समितिको पदस्थापन

२०८१ पौष ३, बुधबार प्रकाशित ( दिन अघि) १३५ पाठक संख्या

परासी, ३ पुस । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचित समितिलाई पदस्थापन गरिएको छ । बुधबार संस्थाको प्रांगढमा आयोजित पदस्तान्तरण कार्यक्रममा निर्वाचन समितिले शपथ ग्रहण गरेर पदस्थापन गराएको हो ।
गत शनिबार भएको निर्वाचनबाट संस्थामा दिनेश कुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता धन जैसी शर्माले समितिका अध्यक्ष तथा पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्वाचन समिति सदस्य वरिष्ठ अधिवक्ता बाबुराम खड्काले सपथ ग्रहण गराउनुभएको थियो ।

K2

उक्त अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले नयाँ समितिलाई शुद्ध पिउने पानी उपलब्ध गराउने चुनौतीपूर्ण अवसर रहेको बताउनुभयो । उहाँले निवर्तमान अध्यक्ष खगेश्वर पन्थीको नेतृत्वमा परासीबासीले खानेपानी पाएको र अब निर्वाचित अध्यक्ष दिनेश उपाध्यायको नेतृत्वमा शुद्ध खानेपानी उपलब्ध गराउनुपर्ने उल्लेख गर्नुभयो । प्रदेश सांसद जयसवालले शुद्ध पिउने पानीका लागि प्रदेश सरकारबाट फिल्टर प्रविधि जडानका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले खानेपानी क्षेत्र संवेदनशील रहेको भन्दै उपभोक्ता समिति र तीनै तहका सरकारको समन्वयमा आम नगरवासीलाई स्वच्छ पानी खुवाउनुपर्ने बताउनुभयो । नागरिकको स्वास्थ्य रक्षा र उपभोक्ताको हितमा हुने गरी शुद्ध पिउने पानी उपलब्ध गराउन संस्थाको नयाँ नेतृत्व क्रियाशील हुनेमा आफू विश्वस्त रहेको र नगरपालिका पनि सहयोग गर्न तयार रहेको उपमेयर चौधरीले बताउनुभयो ।
निर्वाचित अध्यक्ष उपाध्यायले नगरवासीलाई स्वच्छ पानी खुवाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका निवर्तमान उपाध्यक्ष चन्द्रप्रकाश गुप्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यालय नवलपरासीका प्रमुख प्रकाश न्यौपाने, प्रमुख निर्वाचन अधिकृत एवं नेपाल बार एसोसिएसन नवलपरासीका अध्यक्ष धन जैसी शर्मा, संस्थाका निवर्तमान अध्यक्ष खगेश्वर पन्थी, रामग्राम जेसीजका अध्यक्ष एवं पत्रकार मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको संस्थाकी व्यवस्थापक अञ्जु ज्ञवालीले जानकारी दिनुभयो ।
संस्थाको सातौँ वार्षिकसाधारण सभा तथा अधिवेशनले दिनेश उपाध्यायको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । समितिको सदस्यहरुमा प्रदीप पन्थ, सुरेन्द्रप्रसाद कँहार, सन्दिप अग्रहरी,सीता कुँवर,जगवन्ती तेली र राजु जयसवाल निर्वाचित हुनुभएको निर्वाचन समिति सदस्य अधिवक्ता रमेश चौधरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस