परासी, २५ मंसिर । बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा विषयक नागरिक संवाद कार्यक्रम आज सदरमुकाम परासीमा सम्पन्न भएको छ । ७६ औँ अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज नवलपरासी शाखाले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले युवालाई स्वदेशमै बस्ने वातावरण बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । युवाहरु बाध्यताले मात्र नभई रहर र देखासिकीले पनि विदेश पलायन भईरहेको उनीहरुको भनाई थियो । मानवअधिकार तथा शान्ति समाजका जिल्ला सभापति शिव पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख शभ्भुलाल श्रेष्ठ,नेपाल बार एसोसिएसनका सचिव मित्रलाल लामिछाने, परासी क्याम्पसका प्रमुख सुमनगोपाल आचार्य,पेट्रोलियम डिलर्स एसोसिएसन लुम्बिनी प्रदेश संयोजक पे्रम न्यौपाने,रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल, रामनगर जेसीजका अध्यक्ष देवु भट्टराई, बर्दघाट जेसीजका अध्यक्ष युवराज चापागाई लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
शान्ति समाजकी कोषाध्यक्ष देवकला शर्माको स्वागत,सचिव योगेन्द्र भट्टराईको सञ्चालन रहेको उक्त कार्यक्रममा जिल्ला सदस्य नारायण पाण्डेले बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोग सम्बन्धि कार्यपत्र पेश गर्नुभएको थियो । सहभागिहरुले राजनीनिक अस्थिरता,रोजगारीको अभाव, शिक्षा, बढ्दो निराशा, आर्थिक मन्दि,सीपमूलक शिक्षाको अभाव,देखासिकी,न्यून पारिश्रमिक, कामको सम्मान नहुनु लगायतका कारण युवा पलायन बढिरहेको बताउँदै राज्यले यसका लागि ठोस नीति तथा योजना ल्याई स्वदेशमै सम्भावना र अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।