परासी, १५ मंसिर । साइन रेसुङ्गा बैंक परासी शाखाले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ विष्णुपुरास्थित राधाकृष्ण माविमा स्थानीय अभिभावकलाई बित्तीय साक्षरता तालिम दिएको छ ।
विद्यालयका अध्यक्ष त्रिलोकी गुप्ताको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बैंकका परासी शाखा प्रमुख शिवनारायण यादवले ग्रामीण क्षेत्रका नागरिकको आर्थिक गतिविधि र बैंकिङ कारोबारमा सहभागी बढाउन वित्तिय साक्षरता प्रदान गरेको बताउनुभयो ।
ग्रामीण क्षेत्रका महिला तथा स्थानीयलाई उद्यम–व्यवसाय र उत्पादनसंग जोडिन पनि वित्तीय साक्षरता जरुरी हुने बताउँदै उहाँले बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको उल्लेख गर्नुभयो । यादवले डिजिटल बैकिङ कारोबार गर्दा सेवाग्राहीले घर वा कार्यालयमै बसेर सुरक्षित र छिटो छरितो सेवा लिन सकिने जस्ता फाइदाहरु र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता लगायतका विषयमा पनि सहभागीलाई जानकारी गराउनुभएको थियो ।
प्रमुख अतिथि गुप्ताले समुदायलाई सचेतना जगाउन बैंकले गरेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले ग्रामीण क्षेत्रका नागरिकलाई दिइने बैंकिङ्ग सुविधालाई सहज र सरल बनाउन पनि आग्रह गर्नुभएको थियो ।