२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

आपसी विवादले सुस्तामा निर्माणाधिन खानेपानी आयोजनाको काम पाँच महिनादेखि ठप्प

२०७८ जेष्ठ २९, शनिबार प्रकाशित ( साल अघि) ६५२ पाठक संख्या

परासी, २९ जेठ – भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको सुस्तामा निर्माणाधिन खानेपानी आयोजनाको काम अवरुद्ध भएको छ । स्थानीयवासीबीचको आपसी विवादका कारण पाँच महीनादेखि आयोजनाको काम ठप्प भएको बताईएको छ ।
वर्षाैँदेखि आर्सेनिकयुक्त चापाकलको पानी पिउन बाध्य नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका—५ स्थित नारायणी नदीपारी सुस्ताका स्थानीयवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको सहकार्यमा आयोजना निर्माण थालेको थियो ।
२०७६ माघदेखि निर्माण शुरु भएको आयोजनाको काम गत माघ महीनादेखि अवरुद्ध रहेको खानेपानी तथा सरसफाई संस्था सुस्ताका अध्यक्ष मुन्सीकुमार हरिजनले जानकारी दिनुभयो । सुस्ता बचाउ अभियानका नेतृत्वकर्ताहरुले नै काम गर्न नदिएको उहाँको आरोप छ ।
पुरानो दर्तावाला संस्थामार्फत काम भईरहेकै बेला स्थानीय अगुवाहरुले नै अर्काे उपभोक्ता समितिसमेत गठन गरेर आफूहरुले काम गर्न पाउनुपर्ने भन्दै विवाद झिकेपछि निर्माण कार्यमा बाधा पुगेको संस्थाका अध्यक्ष हरिजन बताउनुहुन्छ ।
लामो प्रयासपछि आएको खानेपानी आयोजनाको काम अलपत्र परेपछि सुस्तावासी चिन्तित भएका छन् । तीन वर्ष भित्र निर्माण सम्पन्न गरी सुस्तावासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने गरी आयोजनाको निर्माण थालिएको थियो ।
गत वर्ष बोरिङ्गको काम सफल भएपछि दुई डिप ट्युबेल गाडिएको संस्थाले जनाएको छ । यसवर्ष आयोजनाको क्षेत्र चारैतिरबाट पर्खालले घेर्ने, माटो पुर्ने र गेट निर्माण गर्ने कार्य भईरहेको थियो । “हामीले अहिलेसम्म रु ४१ लाखको काम सम्पन्न गरी थप निर्माण कार्य अघि बढारहेका थियौँ, तर अहिले आएर विवाद नमिल्दा काम ठप्प भयो”, अध्यक्ष हरिजनले भन्नुभयो ।
स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुले पनि सहजीकरण गर्नुको साटो असहयोग गरेको हरिजनले बताउनुभयो । सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले भने आफूहरु विकास विरोधी नभएको बताउनुभयो । खानेपानी आयोजनाका लागि जग्गा दान गरेका दुई जना मध्ये विजय गुप्तासँग संस्थाले समन्वय नगरी काम गर्दा असमझदारी बढेको उहाँको दाबी छ । सुस्ता बचाउ अभियानमा लामो समयदेखि लाग्नुभएका अभियानका अध्यक्ष गोपाल गुरुङ्को नेतृत्वमा उक्त काम हुनुपर्ने आफूहरुको माग रहेको उहाँले बताउनुभयो । जयसवालले करोडौँको योजना भएकोले टेन्डर मार्फत काम हुनुपर्ने जिकिर पनि गर्नुभयो ।
उक्त क्षेत्रमा खानेपानी ट्याङ्की निर्माणका लागि टेन्डर आह्वान भईसकेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । “नेपाली भूमि रक्षा गर्दै आएका सुस्तावासीलाई आर्सेनिक र आईरनयुक्त पानी प्रयोग गर्नुपर्ने बाध्यता हटाई शुद्ध पिउने पानी उपलब्ध गराउन प्रदेश सरकार र गाउँपालिकको लागत साझेदारीमा काम भईरहेको छ”, उहाँले भन्नुभयो ।
पूरानो संस्थाले सम्झौता गरी काम अघि बढाईरहेका बेला अर्काे उपभोक्ता समिति गठन भएपछि विवाद भएको बताउँदै अध्यक्ष पाण्डेले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको रोहबरमाा दुवै समितिबाट प्रतिनिधित्व हुने गरी काम अघि बढाउने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
आयोजनाको निर्माण सम्पन्न भएपछि यहाँका २६५ घरपरिवार शुद्ध पिउने पानीको पहुँचमा पुग्ने उहाँले बताउनुभयो । अहिले चापाकलको पानी पिउँदा विभिन्न रोग लाग्ने गरेकोले आयोजना सम्पन्न भएपछि शुद्ध पिउने पानी प्रयोग गर्न पाउनुका साथै रोगबाट पनि मुक्ती पाइने स्थानीय कमल हरिजनले बताउनुभयो ।
विसं.२०२२ सालदेखि बसोबास गर्दै आएका सुस्तावासी अहिलेसम्म शुद्ध पिउनेपानीको पहुँचबाट वञ्चित छन् । पछिल्लो पटक तीनै तहका सरकारले यहाँको विकासमा ध्यान दिन चालेपछि सुस्तावासी हर्षित छन् । तर आपसी विवादमा परेर विकासको कामलाई अवरोध गर्न नहुने स्थानीयको माग छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस