२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा क्षेत्री दिवस भव्यताका साथ मनाईयो,राममन्दिर संरक्षणको लागि कोष स्थापना हुने

२०८१ आश्विन १८, शुक्रबार प्रकाशित ( हफ्ता अघि) २९६ पाठक संख्या

मोहन पौडेल
परासी, १८ असोज । पश्चिम नवलपरासीमा बसोबास गर्दै आएका क्षेत्री समुदायले घटस्थापना पूजाको अवसरमा शुभकामना आदानप्रदान गर्दै क्षत्री दिवस भव्यताका साथ मनाएका छन् ।
सुनवल नगरपालिका वडा न.५ वनकट्टीस्थित राम मन्दिर संरक्षण कोष स्थापनाको उद्देश्यसहित क्षेत्री समाज नेपाल जिल्ला कार्य समिति, सुनवल नगर समिति र राममन्दिर संरक्षण समितिको संयुक्त आयोजनामा शुक्रबार क्षेत्री दिवस तथा घटस्थापना पूजाको शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री खड्ग बस्नेतले क्षेत्रीको एकता परम्परा र संस्कृति जर्गेनाका लागि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चित्रले भन्दा चरित्रले क्षेत्रीको पहिचान निर्माण गर्नुपर्ने भन्दै भगवान् रामका सन्तान क्षेत्रीले आदर्श पात्र राम जस्तै आदर्श र त्यागी बन्नुपर्नेमा जोड दिनुभयो ।
क्षेत्री समाज नेपाल नवलपरासीका अध्यक्ष मनोज कुमार कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागि वक्ताहरुले क्षत्रिको एकता आपसी सद्भाव, भाईचारा, संस्कृति संरक्षण एवं पुस्तान्तरणका लागि आवश्यक रहेकोमा जोड दिएका थिए । समाजका जिल्ला अध्यक्ष कार्कीले देशभरमा क्रियाशील क्षेत्री समाजका संगठनहरुमा नवलपरासी जिल्लाका गतिविधिहरु अब्बल सावित भएको बताउँदै क्षेत्रीहरुलाई संगठित गर्दै आपसी सद्भाव, एकता र सुखदुःखमा साथ दिने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।
उक्त अवसरमा क्षेत्री समाजलाई अघि बढाउन निरन्तर लागिपर्ने व्यक्तिहरु, सहयोगदाताहरु,उच्च शिक्षा हासिल गरि विभिन्न पेशामा आवद्ध क्षेत्रीका सन्ततीहरु एवं ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको क्षेत्री समाज नवलपरासीका प्रवक्ता मोहन कार्कीले जानकारी दिनुभयो । सोही अवसरमा समाजका सबै समुदायका आवजलाई मिडिया मार्फत निरन्तर उजागर गरि योगदान गरेको भन्दै पत्रकार द्धय मोहन पौडेल र कल्पना खरेललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष लालबहादुर अधिकारी, लुम्बिनी प्रदेश अध्यक्ष पृथ्वी फौदार , सुनवल नगरपालिकाका पूर्व मेयर भरत थापा, सुनवल ५ का वडा अध्यक्ष नेत्र शर्मा तिवारी, समाजका सल्लाहकार यमबहादुर थापा, महिला संगठनकी अध्यक्ष बिमला आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको क्षेत्री समाजका जिल्ला सचिव यमबहादुर खत्रीले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार भरत क्षेत्रीको प्रस्तुतीसँगै पञ्चेबाजाको तालमा सहभागिहरु छमछमि नाचेका थिए भने पिङ खेलेर मनोरञ्जन लिनेको पनि कमी थिएन । बिहीबार घटनास्थापनाकै दिन क्षेत्री दिवस मनाउने कार्यक्रम भएपनि राष्ट्रिय शोकका कारण शुक्रबार क्षेत्री दिवस मनाईएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस