२०८२ श्रावण २३, बिहिबार
24 खबर अपडेट

अविरल वर्षाका कारण नवलपरासीको दक्षिणी क्षेत्र जलमग्न, सुस्तामा बाढी पस्यो,भुजहवामा बाँध फुट्यो

२०८१ आश्विन १२, शनिबार प्रकाशित (0 महिना अघि) ९१३ पाठक संख्या

मोहन पौडेल
परासी, १२ असोज । अविरल वर्षाका कारण पश्चिम नवलपरासीको दक्षिणी क्षेत्र जलमग्न भएको छ । झरही र धनेवा खोलाको बहाव बढ्दा जिल्लाको दक्षिणी क्षेत्र डुबानको चपेटमा परेको हो ।
जिल्लाको सरावल गाउँपालिकाको वडा नं.५,६ र ७ र पाल्हीनन्दनको शंकरपुर क्षेत्रको तीन हजार विघा खेतीयोग्य जमिन डुबानमा परेको छ । धनेवा र झरही खोलामा आएको बाढीका कारण त्यस क्षेत्रका तीन हजार विघा भन्दा बढी खेतमा लगाइएको धानबालीमा क्षति पुगेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो ।
दुवै नदीमा आएको बाढी ओभरफ्लो भई धानखेतमा पसेको छ भने सरावलको मधवलयिा र भुजहवा जोड्ने पुल नजिक करिब डेढ सय मिटर दक्षिण पश्चिम तर्फ भुजहवामा बाँध भत्किएर धनेवा नदीको बाढी धानखेतीमा पसेको सरावल गाउँपालिकाका विपद् व्यवस्थपन फोकल पर्सन अब्दुल रज्जाकले जानकारी दिनुभयो । अहिलेसम्म बस्तीमा भने बाढी नपसेको सरावल गाउँपालिका अध्यक्ष चौधरीले डुबान क्षेत्रको स्थलगत निरीक्षणको क्रममा जानकारी दिनुभयो । खोलामा पानीको बहाव निरन्तर बढ्दै जाँदा बस्ती पनि डुबान हुने जोखिम भने कायमै छ । धानबाली डुबानमा परेपछि यसपाली राम्रो धान फल्ने आशा गरेका किसान चिन्तामा परेका छन् ।

Dhanbali

तस्बीर : सरावल गाउँपालिकाको वडा नं.६ स्थित धानबाली डुबान

निकासको अभावमा रामग्राम २ का केही घर डुबानको जोखिममा परेका छन् । यस्तै शंकरपुर क्षेत्रको डुबान निरीक्षणमा पुग्नुभएका पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले त्यस क्षेत्रको धानखेत जलमग्न रहेको तर घरहरुमा अहिलेसम्म बाढी नपसेपनि जोखिम भने रहेको जानकारी दिनुभयो । झरही नदीमा आएको बाढीका कारण परासी महेशपुर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक अन्तरगत पाल्हीनन्दन २ स्थित भक्सिपुर पुल माथिबाट खोला बगेको कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Pull

पाल्हीनन्दनको भक्सिपुर पुलमाथिबाट बगिरहेको झरहीको बाढी

झरही नदी र रामखण्ड खोलामा पानीको बहाव बढ्दै जाँदा परासीवासी पनि बाढीको त्रासमा रातभर जाग्राम बसेका छन् ।
यस्तै नारायणी नदीको जलस्तरले खतराको तह पार गरेपछि त्रिवेणीस्थित गण्डक व्यारेजका ३६ वटै ढोका खोलिएको छ भने नारायणी पारीको सुस्ता गाउँमा बाढी पसेको छ । नारायणीको बाढी सुस्ताको थारु टोलमा पस्दा वस्ती डुबानमा परेको स्थानीय मुन्सी कुमारले जानकारी दिनुभयो ।

Tharu Tol

सुस्तास्थित थारु टोलमा पसेको नारायणीको बाढी

अविरल वर्षाका कारण सुनवलको वडा नं.१३ बडेरास्थित पेट्रोल पम्प नजिकै केही घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण अहिलेसम्म जिल्लामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । यद्यपी वर्षा निरन्तर जारी रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले पनि जिल्लावासीलाई आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस