२०८१ मंसिर ६, बिहिबार
24 खबर अपडेट

नेपालको सबैभन्दा लामो सुस्ता झोलुंगे पुलको राष्ट्रपति पौडेलद्धारा उद्घाटन

२०८१ आश्विन १०, बिहिबार प्रकाशित ( महिना अघि) १२७ पाठक संख्या

मोहन पौडेल
परासी, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं.५ स्थित नारायणी नदीमा निर्माण भएको नेपालको सबैभन्दा लामो झोलुंगे पुलको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोही अवसरमा नेपाल विद्युत प्राधिकरणले झोलुंगे पुलकै माध्यमबाट सुस्तामा विस्तार गरेको राष्ट्रिय विद्युत प्रशारणको पनि उद्घाटन गर्नुभयो ।
नारायणी पारीको सुस्ताभूमिलाई नेपालसँग जोड्ने गरि नेपाल सरकार शहरी विकास मन्त्रालयले निर्माण गरेको मल्टीस्पान सुस्ता झोलुंगे पुलको विहीबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पुल निर्माणसँगै विकट सुस्ता राज्यको मूलप्रवाहिकरणमा जोडिएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले अब नारायणी नदीमा जोखिम मोलेर डुंगाको सहायताले नदी वारपार गर्नुपर्ने सुस्तावासीको बाध्यताको समाधान भएको उल्लेख गर्दै झोलुंगे पुलको माध्यमबाट सुस्तावासीको शिक्षा र स्वास्थ्यमा पनि सहज र सरल रुपमा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालकै सबैभन्दा लामो झोलुंगे पुल हेर्न पर्यटक आगमन बढ्ने बताउँदै राष्ट्रपति पौडेलले अब सुस्तामा पर्यटन विकास मार्फत यहाँका नागरिकको आर्थिक स्तर पनि उकासिने बताउनुभयो । उहाँले आफ्नो भूमि रक्षा गर्ने सुस्तावासीले अब नागरिकता   र जग्गाधनी पूर्जा पनि प्राप्त गर्ने बताउनुभयो ।
कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुस्तामा झोलुंगे पुल निर्माण भएसँगै सुस्तावासी राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
यस्तै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सुस्तावासीलाई एक वर्षको विद्युत महशुल निःशुल्क गर्ने घोषणा गर्नुभयो । विहीबारदेखि विद्युत जडान भएका सुस्ताका ३५० घरधुरीलाई एक वर्षको न्यूनतम विद्युत महशुल छुट गर्ने घोषणा गर्दै मन्त्री खड्काले सरकारले अघि सारेको शतप्रतिशत विद्युतीकरणको लक्ष्यलाई सहयोग पुर्याएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वर्षाैँदेखि सुस्तावासीले भोग्दै आएको पीडा केही हदसम्म समाधान भएको उल्लेख गर्दै अब संघीय सरकारले सुस्तावासीलाई नागरिकता  र जग्गाधनी पूर्जा वितरण गर्नुपर्नेमा जोड दिनुभयो । सुस्ता गाउँपालिकाको वडा नं.५ स्थित सकरदिनही र नारायणी पारीको सुस्तागाउँलाई जोड्ने गरि शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनको भ्याट बाहेक रु २० करोड ९३ लाख ७९ हजार लागतमा सुस्ता झोलुंगे पुल निर्माण सम्पन्न भएको शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो । त्रिशुली÷आश्रय जेभीसँग सम्झौता भएको झण्डै नौँ वर्षपछि निर्माण सम्पन्न भएको सुस्ता झोलुंगे पुल एक हजार ५७१ मिटर लामो र एक दशमलब ६० मिटर चौडा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस