२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

संविधान दिवस : सुनवल नगरपालिकाद्धारा ज्येष्ठ नागरिक र फरक क्षमता भएका विद्यार्थीलाई पोशाक वितरण

२०८१ आश्विन ३, बिहिबार प्रकाशित ( घण्टा अघि) १२४ पाठक संख्या

मोहन पौडेल
परासी, ३ असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिक र फरक क्षमता भएका विद्यार्थीलाई पोशाक वितरण् गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा पवित्र बृद्धाश्रम बडराका ज्येष्ठ नागरिक र लुम्बिनी मावि सुनवलमा अध्यनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई आज पोशाक वितरण गरिएको छ ।
सुनवल नगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा लुम्बिनी माविमा आवासीय रुपमा अध्ययनरत १३ जना फरक क्षमताका विद्यार्थी र सुनवल–१३ मा रहेको पवित्र बृद्धाश्रममा रहेका ५ जना ज्येष्ठ नागरिकलाई पोशाक वितरण गरिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । उक्त अवसरमा बोल्दै नगर प्रमुख अर्यालले संविधानले दिएको अधिकारलाई सदुपयोग गर्दै समृद्ध सुनवल, सुखी सुनवलवासीको सपना साकार बनाउने अभियानमा आफू निरन्तर अघि बढिरहेको बताउनुभयो ।
नगर प्रमुख अर्यालले भौतिक विकाससँगै सामाजिक विकास पनि अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै सुनवल नगरपालिकाले सामाजिक विकासलाई पनि प्राथमिकता दिएको बताउनुभयो । नेपालकै पहिलो बालमैत्री नगर रहेको सुनवललाई क्रमशः महिलामैत्री र युवामैत्री बनाउने अभियान शुरु भईसकेको बताउँदै नगर प्रमुख अर्यालले नगरको विकासमा यहाँका राजनीतिक दल, नागरिक अगुवा, समाजसेवी एवं आम नागरिकसँग सँगसँगै हातेमालो गरि अघि बढिरहेको भन्दै आगामी दिनमा पनि नगरको विकासमा सबै क्षेत्रबाट सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जनताका प्रतिनिधिले पहिलो पटक बनाएको नेपालको संविधान २०७२ ले हरेक समुदायको अधिकार सुनिश्चित गरेको बताउँदै यसको कार्यान्वयनमा सबै क्षेत्रको प्रतिबद्धता र ऐक्वबद्धता आवश्यक रहेको बताउनुभयो । सहिद पत्नी भागिरथी पाण्डेले संविधानसभाबाट संविधान जारी भएपछि देशमा स्थीर सरकार आउने र आमूल परिवर्तन हुने नेपाली जनताको अपेक्षा रहेपनि त्यसो नहुँदा निराशा छाएको र युवा जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुनवल नगरपालिकाका उपपप्रमुख सूर्यप्रसाद दुवे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भविश्वर तिवारी आजाद, नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, पूर्व गाविस अध्यक्ष थानप्रसाद गैरे, सुनवल ३ का निवर्तमान वडा अध्यक्ष कर्णबहादुर सेन, जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेल, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने लगायतले शुभकामना व्यक्त गर्दै संविधानको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको सुनवल नगरपालिकाका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस