२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

कुपोषण रोकथामका लागि पोषण विशेष कार्यक्रमलाई प्रभावकारी बनाउँदै रामग्राम नगरपालिका

२०८१ भाद्र ११, मंगलबार प्रकाशित ( हफ्ता अघि) २४९ पाठक संख्या

मोहन पौडेल
परासी,११ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष योजनासहित पोषण सुधार अभियान चलाएको छ । कुपोषित बालबालिकाको संख्या बढ्न थालेपछि पोषण विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गरि पोषणमैत्री नगरपालिका निर्माणमा जुटेको रामग्राम नगरपालिकाले जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार रामग्राम नगरपालिकामा ६१ जना कडा शिघ्र कुपोषित बालबालिका भेटिएका छन् । आ.व.२०८०।०८१ मा नगरपालिकाले कुपोषित बालबालिकाको पहिचानका लागि गरेको खोजपड्ताल कार्यक्रमबाट उक्त संख्यामा कडा खालको शीघ्र कुपोषित भेटिएको नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।
कुपोषित बालबालिकाको संख्या पत्ता लगाई उपचारको दायरामा ल्याईएको उहाँले बताउनुभयो । नगरपालिकाले सञ्चालनमा ल्याएको पोषण विशेष कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको उहाँको भनाई छ ।
पाँच वर्ष मुनिका कूल ४ हजार ४१८ बालबालिकालाई लक्षित गरि सञ्चालन गरिएको खोलपड्ताल कार्यक्रम अन्तरगत लक्षित जनसंख्याको ८९ प्रतिशत अर्थात ३ हजार ९३८ जनाको स्वास्थ्य अवस्था जाँच गरिएको थियो । त्यसमध्ये ६१ जनामा कडा खालको शीघ्र कुपोषण र ३०४ जनामा मध्यम शीघ्र कुपोषण र ३ हजार ५७३ जनामा सामान्य खालको कुपोषण भेटिएको हरिजनले बताउनुभयो ।
हरिजनका अनुसार सबैभन्दा बढी वडा नं.१६ मा दश जना कडा कुपोषित बालबालिका भेटिएका थिए भने वडा नं.१८ मा ९ जना,वडा नं.१५ र १७ मा ८।८ जना र वडा नं.१ म सात जनामा कडा कुपोषण भेटिएको थियो । कडा खालका कुपोषणबाट प्रभावित बालबालिकालाई निःशुल्क उपचार गरि निको पारिएको छ भने अन्य कुपोषित बालबालिकालाई पोषणयुक्त खाना खान परामर्श प्रदान गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकामा मंगलबार आयोजित पोषण कार्यक्रमको समिक्षा तथा आगामी कार्ययोजना तयारी गोष्ठीमा उक्त जानकारी गराईएको थियो । पोषण विशेष कार्यक्रम अन्तरगत रामग्राम नगरपालिका अन्तरगतका अमरवन, शुक्रौली,अमरौट, जमुवाड र देवगाव स्वास्थ्य चौकीमा पोषण कर्नर राखिएको छ भने मातृ मृत्युदर न्यूनीकरणका लागि ग्रामीण अल्ट्रासाउण्ड प्रत्येक हप्ताको एक पटक सबै वडालाई समेट्ने गरि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
यसैगरी गर्भवती महिलालाई क्लाल्सियम चक्की वितरण कार्यक्रम थप परिमार्जन सहित पूर्ण अवधिसम्मको लागि वितरण हुने गरि विस्तार गरिएको छ । स्वास्थ्य संस्थामा सुत्केरीका लागि रामग्राम भित्रको वर्थिङ सेन्टर निःशुल्क ल्याउन लैजानका लागि एम्बुलेन्स व्यवस्थापन गरिएको छ । घरमा सुत्केरी हुने संख्या शुन्य गराउन पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरि हरेक वर्ष सुनिश्चितताका लागि प्रतिबद्ध रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक हरिजनले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरका १७ वटा स्वास्थ्य संस्थाले आफ्नो क्षेत्रमा सञ्चालित पोषण कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरेको शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले बताउनुभयो । रामग्राम नगरपालिकामा गत आर्थिक वर्षमा बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ९७७ छ भने ६ महिनासम्म पूर्ण स्तनपान गराउने आमाहरुको संख्या ६३२ छ ।

नेपालमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा कुपोषणको समस्या छ । गरिबीका कारण पोषिलो खानामा पहुँच नहुनु, जंक फुडको बढ्दो प्रयोगले पोषणयुक्त खानाको कमी हुनु लगायतका कारण कुपोषणको समस्या बढ्दै गएको सरोकारवाला बताउँछन् । बालबालिकाको उमेर अनुसार न्यूनतम उचाई नहुनु,उमेर अनुसार तौल नहुनु,रक्तअल्पता जस्ता समस्या देखिनु कुपोषण हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस