२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

देशकै सर्वाेत्कृष्ट साकोस बन्यो सुनवलको सयपत्री बचत तथा ऋण सहकारी संस्था

२०८१ श्रावण ३२, शुक्रबार प्रकाशित ( महिना अघि) ३०७ पाठक संख्या

मोहन पौडेल
परासी, ३२ साउन । पश्चिम नवलपरासीको सुनवलमा प्रधान कार्यालय रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड(साकोस) देशकै सर्वाेत्कृष्ट साकोस बन्न सफल भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून)ले आफ्नो ३७ औँ स्थापना दिवसको अवसरमा शुक्रबार सयपत्री साकोसलाई देशकै उत्कृष्ट साकोसको रुपमा घोषणा गरेको हो ।
स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेफ्स्कूनले विभिन्न क्षेत्रबाट सहकारी अभियानमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कृत गर्ने घोषणा गर्ने क्रममा नवलपरासीको सयपत्री साकोसलाई यस वर्षको सर्वाेत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा सम्मान गर्ने घोषणा गरेको हो ।
सुनवल–१ स्थित सुनवल चोकमा केन्द्रीय कार्यालय रहेको यस सहकारीको समग्र वित्तीय व्यवस्थापन उत्कृष्ट हुनुका साथै वित्तीय कारोबार र सबै सूचकमा अब्बल रहेकोले संस्था देशमै उत्कृष्ट साकोसको रुपमा स्थापित हुन सफल भएको उक्त सहकारीका व्यवस्थापक टीकाराम तिमिल्सिनाले जानकारी दिनुभयो । नेफ्स्कूनले सोही सहकारीका व्यवस्थापक तिमिल्सिनालाई गत वर्ष लुम्बिनी प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा पनि सम्मान गरेको थियो । सहकारीका सबै सूचकमा राम्रो सफलता हासिल गर्नु र सदस्य, पुँजी संरक्षण, सदस्य केन्द्रीत कार्यक्रम तथा कारोबार लगायतका कारण सहकारीले उत्कृष्टता हासिल गरेको हो ।
२०५७ साल भदौ ३१ गते ४१ ज्ना युवाबाट ४१ हजार पुँजीबाट स्थापना भएको सयपत्री साकोसले हाल रु ५१ करोड बढीको कारोबार गर्न सफल छ । तीन हजार ३८६ जना शेयर सदस्य रहेको यस साकोसले विश्व बजारमा देखिएको आर्थिक मन्दी तथा नेपालका बैंक तथा वित्तीय सस्थाहरुमा तरलता अभाव भईरहेको जटिल अवस्थामा पनि आ.व.२०८०।०८१ म एक करोड २० लाख शुद्ध मुनाफा आर्जन गर्न सफल रहेको व्यवस्थापक तिमिल्सिनाले बताउनुभयो ।
सहकारीमा देशैभरि खराब कर्जा बढिरहेको अवस्थामा यस साकोसको भाखा नाघेको ऋण न्यून मात्रामा अर्थात ५ प्रतिशत भन्दा पनि कम रहेको छ । हाल यस सहकारीको बचत ४० करोड भन्दा बढी छ भने ऋण लगानी रु ३८ करोड,कूल पुँजी रु ५१ करोड बराबरको छ । गत वर्ष रु ४३ करोड मात्र बासलात रहेको यस सहकारीले गत वर्ष विषम परिस्थितिमा पनि आठ करोड आर्थिक बृद्धि गर्न सफल छ । संस्थामा व्यवस्थापकसहित सात जना कर्मचारी कार्यरत छन् ।
संस्थाले आफ्नो वित्तीय अवस्थालाई थप मजबुत बनाउन विभिन्न रणनीतिक योजनाहरु बनाएर अघि बढिरहेको संस्थाका अध्यक्ष कृष्ण पौडेलले बताउनुभयो । सहकारीले सफलता हासिल गर्नुमा सबै सदस्य, सञ्चालक तथा कर्मचारीको ठूलो मेहेनत रहेको भन्दै उहाँले सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
सयपत्री साकोस यसअघि नेफ्स्कूनबाटै २०७८ मा लुम्बिनी प्रदशकै उत्कृष्ट साकोस,२०७७ मा सुनवल नगरपालिकाबाट नगर भित्रकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको थियो । २०७५ मा पहिलो पटक राष्ट्रियस्तरको गुणस्तरीय प्रोबेसन ब्राण्ड पाउन सफल सयपत्री साकोसले २०७६ मा दोस्रो पटक र २०७७ मा तेस्रो पटक गुणस्तरीय प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल भएको थियो ।
२०७७ मा राष्ट्रिय सहकारी बैंकबाट लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको सयपत्री साकोस २०७५ मा जिल्ला सहकारी संघबाट उत्कृष्ट सहकारी र २०७४ मा जिल्ला बचत तथा ऋण सहकारी संघबाट पनि उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस