२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका सातै पालिकामा “पोषणमार्फत जीवन रुपान्तरण परियोजना”

२०८१ श्रावण ३२, शुक्रबार प्रकाशित ( महिना अघि) १३० पाठक संख्या

परासी । शीघ्र कुपोषणको उपचारमा केन्द्रीत रहेको पोषण मार्फत जीवन रुपान्तरण परियोजना पश्चिम नवलपरासीका सातै पालिकामा लागू भएको छ । हेलन केलरको सहयोगमा वेस नेपालले नवलपरासीमा यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कार्यक्रमको बारेमा सुनवलमा सरोकारवालाहरुबीच सम्पन्न बैठकमा उक्त जानकारी गराईएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले लुम्बिनी प्रदेशमा पोषणको अवस्था निकै कमजोर रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सन २०३० सम्म पोषणको अवस्था सुधार गर्न कठिन देखिएपनि सबै सरोकारवालाले पोषण सुधारमा गम्भीरका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पोषण सुधार गर्ने प्रमुख दायित्व स्थानीय सरकारको रहेको बताउनुभयो । स्थानीय सरकारले पोषणलाई प्राथमिकता दिएर अभियान सञ्चालन गर्नुपर्ने बताउँदै उहाँले परियोजनासँग सहकार्य गर्न जोड दिनुभयो । स्वास्थ्य कार्यालय प्रमुख ओमप्रकाश पन्थीले जिल्लाको पोषण अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो भने जिल्लाका सातै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले पालिकामा सञ्चालन भईरहेको पोषण कार्यक्रमबारे जानकारी गराएका थिए ।
हेलेन केलरका दीपेन्द्र भट्टले परियोजनाको विषयमा जानकारी गराउँदै नेपालमा ५३ प्रतिशत बालबालिकाको मृत्यु प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुपोषणका कारण हुने गरेको बताउनुभयो । लुम्बिनी प्रदेशमा ख्याउटेपनको दर नेपालमै सबैभन्दा बढी १६ दशमलव २ प्रतिशत रहेको भन्दै उहाँले जबकी देशको ख्याउटेपनको दर ७ दशमलब ७ प्रतिशत मात्रै रहेको बताउनुभयो ।
पश्चिम नवलपरासीसहित लुम्बिनी प्रदेशका चार जिल्लामा लागू भएको यो परियोजनाले लुम्बिनी प्रदेशका पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य तथा पोषण सुधार गर्ने लक्ष्य लिएको छ । समुदायमा आधारित शीघ्र कुपोषणको व्यवस्थापन, पूर्ण स्तनपानको प्रवद्र्धन एवं आमा र बालबालिकाको स्वास्थ्यमा सुधार गर्नु परियोजनाको मूख्य उद्देश्य रहेको वेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोखरेलले जानकारी दिनुभयो । जिल्लाका करिब २५ हजार बालबालिका यो कार्यक्रमबाट लाभान्वित हुने परियोजनाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस