२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

स्वतन्त्रता दिवसमा हजारौँ भारतीय पर्यटकको गन्तव्य बन्यो सुस्ता झोलुंगे पुल

२०८१ श्रावण ३१, बिहिबार प्रकाशित ( महिना अघि) २५८ पाठक संख्या

मोहन पौडेल
परासी,३१ साउन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमा झोलुंगे पुल बनेपछि नेपाल र भारतका पर्यटकको आकर्षण बढेको छ । सुस्ता जोड्ने झोलुंगे पुल बनेपछि यस क्षेत्रमा आउने पर्यटकको संख्यामा ह्वात्तै वृद्धि भएको हो ।
विहीबार मात्रै सुस्ता झोलुंगे पुल हेर्न र घुम्न आउनेको संख्या हजारौँ थियो । भारतले ७८ औँ स्वतन्त्रता दिवस मनाईरहँदा भारतका विभिन्न स्थानबाट हजारौँको संख्यामा भारतीय पर्यटक सुस्ता झोलुंगे पुल घुम्न आएका थिए ।
पछिल्लो समय साउनको महिनामा भारतीय तीर्थालुको आगमन बढेको थियो तर विहीबार १५ अगस्टमा स्वतन्त्रता दिवस मनाउन आएका भारतीय पर्यटकले पुल भरिभराउ देखिन्थ्यो । सुस्ता–५ का वडा अध्यक्ष प्रभुनाथ यादवका अनुसार सुस्ताको पक्लिहवाबाट नारायणी पारीको नेपाली भूमि सुस्ता गाउँ जोड्ने गरि झोलुंगे पुल बनेपछि उक्त पुल हेर्न र सुस्ता घुम्न आउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
पुलको औपचारिक उद्घाटन हुनै बाँकी छ तर उद्घाटन हुन नपाउँदै पुलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । पुल सञ्चालनमा आएपछि सबैभन्दा धेरै संख्यामा विहीबार भारतीय पयर्टकको घुइँचो लागेको वडा अध्यक्ष यादवले बताउनुभयो ।
भारतको विहार तथा उत्तर प्रदेशबाट स्वतन्त्रता दिवस मनाउन आएका हजारौँ भारतीय पर्यटकहरुले नेपालको सुस्ता झोलुंगे पुलको भ्रमण अवलोकन गर्दै रमाएका थिए । विगतमा डुंगाको जोखिमपूर्ण यात्रा मार्फत सुस्ता गाउँ पुग्नुपर्ने बाध्यका कारण निकै दुर्गम मानिएको सुस्ता झोलुगे पुल बनेपछि भने सुगम बनेको छ।
दिनप्रतिदिन झोलुंगे पुल र सुस्ता घुम्न आउने पर्यटकका कारण सुस्ता क्षेत्रमा चहलपहल बढ्न थालेपछि सुस्तावासी पनि उत्साहित देखिन्छन् । पुल सञ्चालनमा आएपछि नारायणी वारीपारी दुवैतर्फ व्यापार व्यवसाय पनि फस्टाएको छ ।
सुस्ता घुम्न आउने पर्यटक बढ्न थालेपछि सुस्ता गाउँमा पर्यटकको बसाँई लम्ब्याउन थप आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने सुस्तावासीको माग छ । सुस्ताको पर्यटन प्रवद्र्धन गर्न पार्क निर्माण गर्ने, सुस्ता गाउँमा रहेको पोखरीलाई सौन्दर्यीकरण गरि वरपर होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्ने, सुस्ता बचाउ अभियानका अध्यक्ष स्वर्गीय गोपाल गुरुङ्गको शालिक निर्माण गर्ने, प्रवेशद्धार तथा भ्यु टावर निर्माण गर्ने लगायतका योजना अघि सारिएको सुस्ता बचाउ अभियानका कार्यबाहक अध्यक्ष एवं वडा सदस्य आदम खाँले बताउनुभयो ।
सुस्तावासीको दशौँ वर्षको संघर्षपछि नारायणीमा झोलुंगे पुल बनेको हो । २३ करोड ६५ लाख ९८ हजार आठ सय रुपैयाँको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस