२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

नवलपरासीका अधिकांश अटोरिक्सा चालकसँग छैन सवारी चालक अनुमतिपत्र

२०८१ श्रावण २५, शुक्रबार प्रकाशित ( महिना अघि) १९२ पाठक संख्या

मोहन पौडेल
परासी,२५ साउन । पश्चिम नवलपरासीमा सञ्चालनमा रहेका अधिकांश तीन पांग्रे सवारी साधन (अटोरिक्सा) चालकसँग सवारी चालक अनुमति पत्र (लाईसेन्स) नभएको पाईएको छ । सरकारले तीन पांग्रे सवारीका चालकलाई पनि लाईसेन्स अनिवार्य गरेको छ तर नवलपरासीमा सञ्चालित अटोरिक्साका चालकहरुले लाईसेन्स बिनै सवारी हाँकीरहेको उनीहरु आफै स्वीकार गर्छन् ।
यातायात व्यवस्था सेवा कार्यालय परासीले शुक्रबार गरेको अनुगमनमा धेरैजसो अटोरिक्सा चालकको लाईसेन्स नहुनुका साथै सवारी साधन सम्बन्धि आवश्यक कागजात समेत चुस्त दुरुस्त नभएको भेटिएको हो । लाईसेन्स बिना सवारी सञ्चालन गर्नु कानून विपरित भएकोले अनिवार्य रुपमा लाईसेन्स लिएर मात्र सवारी चलाउन अटोरिक्सा चालकहरुलाई सचेत गराईएको यातायात व्यवस्था सेवा कार्यालय परासीका प्रमुख मुक्तिप्रसाद पाण्डेले बताउनुभयो । लाईसेन्स बिनै सवारी चलाउँदा कुनै दुर्घटना भएमा चालक आफैलाई समस्या हुने भन्दै प्रमुख पाण्डेले लाईसेन्स, ब्लुबुक नवीकरण, रुट परमिट अनुमति लिएर मात्र सवारी चलाउन आग्रह गर्नुभयो ।
चालकहरुले भने तीन पांग्रे सवारीको चालक अनुमति पत्रको परीषा बिरलै हुने गरेकोले कठिनाई रहेको भन्दै सरकारले जिल्लाबाटै छोटो अवधिमा लाईसेन्स दिने प्रबन्ध गर्नुपर्ने माग गरेका थिए । जिल्लामा तीन पांग्रे सवारीको विषयमा गुनासो आएपछि यातायात व्यवस्था कार्यालयले जिल्लाको पाल्हीनन्दनस्थित महेशपुर बजार, सुनवल नगरपालिकाको सुनवल बजार र बर्दघाट नगरपालिकाको बसपार्क क्षेत्रमा तीन पांग्रे तथा चार पांग्रे सवारी साधनको अनुगमन गर्दै सचेत गराएको हो ।
अटोक्सिा चालकहरुले सवारी धनी प्रमाणपत्र समेत समयमा नवीकरण नगर्ने गरेको पाईएको थियो । यातायात कार्यालयसहित जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारसहितको अनुगमन टोलीले अटोक्सिा तथा टेम्पो चालकहरुसँग उनीहरुका समस्या बुझ्दै सवारी नियमको अनिवार्य पालना गर्न आग्रह गरेको थियो ।
तीन पांग्रे सवारी साधनको व्यवस्थापन र कानूनको दायरामा ल्याउने अधिकार स्थानीय सरकारलाई भएपनि यहाँका अधिकांश स्थानीय सरकारले अटोरिक्सा व्यवस्थापन सम्बन्धि कानून निर्माण गर्न सकेका छैनन् । जसले गर्दा अटोरिक्सा लगायतका तीन पांग्रे सवारी साधनको उचित व्यवस्थापन हुन सकेको छैन् । अटोक्सिाको संख्या बढ्दै जानु र नियमन नहुँदा बेलाबेला अटोरिक्सा चालकहरुबीच विवाद समेत सिर्जना हुने गरेको छ ।
पाल्हीनन्दन र सरावलका अटोरिक्सा चालकहरुबीच केही समयदेखि रहेको विवाद हाललाई साम्य भएपनि यसको ठोस समाधन भने भएको छैन् । स्थानीय तहले कानून बनाएर व्यवस्थापन नगर्दासम्म जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको रोहबरमा भएको सहमतिलाई अक्षरसः पालना गरि अटोरिक्सा सञ्चालन गर्न चालकहरुलाई अनुगमन समितिले निर्देशन गरेको यातायात व्यवस्था सेवा कार्यालय परासीका प्रमुख पाण्डेले बताउनुभयो ।
अनुगमन समितिले बर्दघाट स्थित पश्चिम नेपाल बस व्यवसायी समिति र पाल्ही मध्य नेपाल यातायात व्यवसायी समिति अन्तरगत सञ्चालित बसको अवस्था र सञ्चालन प्रक्रियाको बारेमा पनि जानकारी लिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस