२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

सुस्ताको बालपुरी मठ छिवनीमा साउनको पहिलो सोमबार विशेष घुइँचो, मानव साङ्गलोद्धारा जलार्पण

२०८१ श्रावण ७, सोमबार प्रकाशित ( महिना अघि) १६२ पाठक संख्या

मोहन पौडेल
परासी,७ साउन । धर्मकर्मको महिनाको रुपमा चिनिने साउनको पहिलो सोमबार आज पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिवनीस्थित बालपुरी मठधुनी मन्दिरमा सयौँ श्रद्धालु भक्तजनले जलार्पण गरेका छन् । पवित्र तीर्थ स्थल त्रिवेणीधामबाट जल ल्याई त्रिवेणीको भक्तेश्वर महादेव, पशुपति मन्दिर र एक सय ८ शिवलिंग तथा छिवनीमा रहेको सिद्ध पुरुष बालपुरी महाराजको जिउँदो समाधी एवं एक सय ८ शिवलिंगमा मानव साङ्गलोबाट जलार्पण गरिएको हो ।
उक्त अवसरमा स्थानीयवासीसहित नवलपरासी, रुपन्देही तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरुको उल्लेख्य सहभागिता थियो । साउने सोमबारका दिन निराहर व्रत बसी शिवजीको पूजा आरधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । पहिलो सोमबारको विशेष महत्व रहेकोले यसपटक मानव साङ्गलोद्धारा जलापर्ण गरिएको बालपुरी मठधुनी मन्दिरका मठाधिस एक हजार आठ महन्त मोहन पुरी(मर्चहवा) बाबाले जानकारी दिनुभयो ।
दिव्य अखण्ड धुनी धाम बालपुरी मठमा प्राचीन समयदेखि नै निरन्तर बलिरहेको अखण्ड धुनी र खुर्सानीको हवन हुने भएकाले यहाँ भक्तजनको विशेष आकर्षण र आस्था छ । यो स्थल बाबा बालपुरी स्वामीले तपस्या गरेको तपोभूमि हो । नेपाल र भारतका विभिन्न ठाउँबाट गरी यहाँ वार्षिक हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ । यस स्थलको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्साका साथ भक्तजनमा विशेष आस्था र विश्वास रहेको मठाधिस मर्चहवा बाबा बताउनुहुन्छ ।
साउनमा जलापर्ण गर्न मात्र नभई शिवरात्रि, कृष्णाअष्टमी, तीजलगायत चाडमा पनि बालपुरी मठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस मन्दिरमा मठाधीशको रूपमा मोहन पुरी मर्चहवा बाबा आएपछि भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति भएको छ । मन्दिर परिसरमा अखण्ड धुनी मन्दिर, शिवालय, महाकाली, भैरवकाली, हनुमान मन्दिर, गणेशको ठूलो मूर्ति, एक सय आठ शिवलिङ्गलगायतका संरचना निर्माण भएका छन् ।
पुरी बाबा मठाधीशका रूपमा आउनुभन्दा पहिले त्यहाँ अखण्ड धुनी बल्ने गरेको जीर्ण अवस्थाको घर र शिवालय मन्दिर रहेको स्थानीयवासी बताउँछन् । खुर्सानीको हवन गरी मठाधीश पुरीले भूतप्रेत भगाउने गरेको तथा आफ्नो भूतभविष्य जान्नका लागि उहाँसँग हेराउनेको विशेषगरि मंगलबार र शनिबार भीड लाग्ने गरेको छ । बालपुरी मठलाई यस क्षेत्रकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थलको रुपमा स्थापित गर्न यहाँका स्थानीयवासीको समेत विशेष सक्रियता रहँदै आएको छ । यस क्षेत्रका भक्तजनको विशेष आस्थाको केन्द्रको रुपमा रहेको बालपुरी मठको विकास, संरक्षण र सम्बद्र्धन गर्दै उत्कृष्ट पर्यटकीय गनतव्य बनाउन संघ, प्रदेश र स्थानीय सरकारले पनि विशेष ध्यान दिन आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल) बताउनुहुन्छ ।

भिडियो रिर्पाेट

https://www.youtube.com/watch?v=okCaA01AxbI

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस