२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

सुनवलका ५ वटा स्वास्थ्य संस्था किशोर किशोरीमैत्री स्वास्थ्य सेवाका लागि योग्य

२०८१ अषाढ २०, बुधबार प्रकाशित ( महिना अघि) २०५ पाठक संख्या

मोहन पौडेल
परासी,१९ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका ५ वटा स्वास्थ्य संस्था किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि योग्य भएका छन् । किशोर किशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ ले तोकेका मापदण्ड पूरा गरेपछि ती स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिएको छ ।
सुनवलको वडा नं.१,३,४,५ र ६ वडामा रहेका स्वास्थ्य संस्थालाई आज नगर प्रमुख बिमला अर्यालले किशोर किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गर्नुभयो । ५ वटै स्वास्थ्य संस्थाले निर्देशिका बमोजिमका तोकिएका सूचक पूरा गरेको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारको निर्देशिका बमोजिम ८ वटा मूख्य सूचक र ४५ वटा सहायक सूचकलाई मूल्यांकनको आधारमा पाँच वटै स्वास्थ्य संस्थाले ल्याएको अंकलाई विश्लेषण गरि घोषणा गरिएको हो । सबै स्वास्थ्य संस्थाले हरेक सूचकमा ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेका छन् ।
स्वास्थ्य संस्थामा सेवा उपलब्धता, व्यवस्थापन, ,भौतिक पूर्वाधार संरचना,औजार उपकरण , स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार सामग्री स्वास्थ्यकर्मीहरुको क्षमता र दक्षता, समुदायको सहयोग तथ्यांक एवं गुणस्तर सुधार लगायतका विषयमा अध्ययन गर्दा सबै सूचक कार्यान्वयनमा भएको पाईएको न्यौपानेले बताउनुभयो ।
घोषणा सभालाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले स्वास्थ्य क्षेत्रमा नगरपालिका संवेदनशील भएर लागेको बताउनुभयो । स्वास्थ्य सेवामा सबैको समान पहुँच सुनिश्चितता अन्तरगत किशोर किशोरीमैत्री स्वास्थ्य सेवालाई चुस्त बनाउन सबै स्वास्थ्य संस्थालाई किशोर किशोरीमैत्री संस्था बनाउने अभियान चलाईएको बताउनुभयो । यो आर्थिक वर्ष भित्रमा १ देखि ८ वडा सम्मका संस्थाहरुलाई अभिमुखीकरण गरिएकोमा पाँच वटा घोषणा हुन सफल भएको बताउँदै नगर प्रमुख अर्यालले आगामी आर्थिक वर्ष भित्र १३ वटै वडाका स्वास्थ्य संस्थालाई किशोर किशोरीमैत्री योग्य बनाउने गरि लाग्न निर्देशन दिनुभयो । नगरपालिकालाई क्रमशः युवामैत्री र महिलामैत्री बनाउने अभियान पनि शुरु गरिएको उहाँले बताउनुभयो । सुनवल नगरपालिका यसअघि नेपालकै पहिलो बालमैत्री नगरपालिका समेत घोषणा भईसकेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसी,सुनवल ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी, कार्यपालिका सदस्य सीता भण्डारी, स्वास्थ्य शाखाका चुडामणि नेपाल लगायतले घोषणासँगै दिगोपनाका लागि पनि ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस