२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परासी बजारमा खुल्ला रक्तदान कार्यक्रम, ५० जना रक्तदाताले गरे रक्तदान

२०८१ अषाढ १, शुक्रबार प्रकाशित ( महिना अघि) २०३ पाठक संख्या

परासी,३२ जेठ । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा शुक्रबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । परासी बजारको बुद्धचोकमा आयोजना गरिएको उक्त कार्यक्रम विश्व रक्तदाता दिवसको अवसर पारि गरिएको थियो । कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
रामग्राम जेसीजको अगुवाई तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी, एभरग्रीन अस्पताल परासी र परासी बैंकर्स क्लबको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार सेवा केन्द्र परासीको प्राविधिक सहयोगमा परासीमा बृहत जनचेतनामूलक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा रक्तदाता राजकुमार रेश्मीले ४३ औँ पटक रक्तदान गर्नुभयो भने ज्योति विकास बैंकका प्रबन्धक दीपक अधिकारीले पहिलो पटक रक्तदान गर्नुभएको थियो । साथै जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोरासहित प्रहरी कर्मचारी, विभिन्न बैंकका कर्मचारी,स्वास्थ्यकर्मी,संघ संस्थाका पदाधिकारी,युवा, महिला तथा अन्य स्थानीय रक्तदाताहरुले रक्तदान गर्नुभएको एभरग्रीन अस्पतालका व्यवस्थापक बलिराम कोईरीले जानकारी दिनुभयो ।
जिल्लामा देखिएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले परासीको बुद्धचोकमा रक्तदान कार्यक्रम गरिएको रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । गर्मी समयमा अस्पतालहरुमा बिरामीको चाप बढिरहेको तर रक्त सञ्चार केन्द्रमा रगत अभाव हुँदा कसैको पनि रगत अभावका कारण अकालमा ज्यान जान नपरोस् भनेर खुल्ला रुपमा रक्तदान गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले रक्तदान जस्तो पवित्र कार्यक्रम आयोजना गरि रगत अभावलाई परिपूर्ति गर्न टेवा पुर्याएकोमा आयोजक संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले रक्तदानको विषयमा नागरिकहरुमा अझै पनि भ्रम र डर रहेको बताउँदै प्रत्येक स्वस्थ व्यक्तिले तीन,तीन महिनामा रक्तदान गर्न सकिने उल्लेख गर्नुभयो ।
रामग्राम जेसीजका अध्यक्ष पौडेलको अध्यक्षता तथा जिसस प्रमुख यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र प्रसाद अग्रहरी, हालसम्म ४३ पटक रक्तदान गर्नुभएका रामग्राम जेसीजका पूर्व अध्यक्ष राजकुमार रेश्मी लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
रामग्राम जेसीजका कानूनी सल्लाहकार विष्णुराज रावको सञ्चालन, जनसम्पर्क अधिकारी रामप्रसाद पौडेलको आस्था पाठ र कार्यक्रम संयोजक एवं कार्यकारीणी उपाध्यक्ष सुनिल कुमार यादवको स्वागत मनतव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस