२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सिटीजन जुरीद्धारा पाल्हीनन्दनमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न

२०८० चैत्र २७, मंगलबार प्रकाशित ( महिना अघि) ३४३ पाठक संख्या

परासी, २७ चैत । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा सुशासनका लागि पार्दशिता र जवाफदेहिता विषयक सार्वजनिक वहस कार्यक्रम सम्पन्न भएको छ । अँिख्तयार दुरुपयोग अनुसन्धान आयोग बुटवलको समन्वय, पाल्हीनन्दन गाउँपालिकाको सहयोग र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था सिटिजन जुरी नवलपरासीको आयोजनामा सार्वजनिक सेवा प्रवाहको विषयमा बहस कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागिहरुले सार्वजनिक निकायमा सुशासन, पार्दशिता र जवाफदेहिता कमजोर रहेको गुनासो गरेका थिए । सार्वजनिक निकायबाट सेवा प्राप्तिमा ढिलासुस्ती, झण्झटिलो प्रक्रिया, बारम्बार धाईरहनुपर्ने, जिम्मेवारी बोधको कमी जस्ता खेप्नुपरेको सहभागिको गुनासो थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले सही नियतबाट विकासका काम गर्न खोज्दा गलत उजुरी दिएर निरुत्साहित गर्ने प्रवृत्ति हावी हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अख्तियारमा विभिन्न रिषिबी साँधेर काम गर्न नदिने नियतका साथ उजुरी दिने प्रवृत्तिले पालिकाको समग्र विकासमै असर पुगेको उहाँले बताउनुभयो । गलत उजुरी दिने व्यक्तिलाई प्रशय नभए कारवाहीको दायरामा ल्याउनुपर्ने उहाँले बताउनुभयो । पालिका अध्यक्ष गुप्ताले सीमित स्रोत साधनका बीच गाउँपालिकाको विकास निर्माणको कार्य अघि बढिरहेको पनि बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले गाउँपालिकामा सञ्चालित विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन निरन्तर अनुगमन मूल्यांकन गरिरहेको बताउनुभयो । उहाँले कँही कतै गुणस्तरहिन काम भईरहेको भए सूचना दिएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवालीले बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्न र सार्वजनिक सेवाप्रदायक निकायलाई जवाफदेही बनाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । संस्था स्थापना भएपछि जिल्लाका विभिन्न पालिकाहरुमा पुगेर सचेतनामूलक सार्वजनिक बहस कार्यक्रम गरि सेवाप्रदायक र सेवाग्राही दुवै पक्षलाई सचेत गराउने काम भईरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवलका प्रतिनिधि गणेश बहादुर श्रीसले पाल्हीनन्दन गाउँपालिका विरुद्ध यस आर्थिक वर्षमा १६ वटा उजुरी परेकोमा ९ वटा फछ्यौट भएको जानकारी दिनुभयो । बाँकी सात वटामा छानविन भईरहेको उहाँले बताउनुभयो । यस्तै पश्चिम नवलपरासी जिल्लामा यस आर्थिक वर्षमा बर्दघाट नगरपालिका विरुद्ध २८ वटा उजुरी परेकोमा १६ वटा समाधान भएको र १२ वटा बाँकी रहेको उहाँले बताउनुभयो । रामग्राम नगरपालिकाविरुद्ध ८ वटा उजुरी परेकोमा ६ वटा समाधान भएको र दुई वटा बाँकी रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सुनवल नगरपालिकाविरुद्ध २७ वटा उजुरी परेकोमा १७ वटा फछ्यौट भएको छ भने दश वटा बाँकी रहेका छन् । सुस्ता गाउँपािलकाविरुद्ध एउटा उजुरी परेकोमा फछ्यौट भईसकेको छ । प्रतापपुर गाउँपालिका विरुद्ध परेको सात उजुरी मध्ये दुई वटा फछ्यौट भई पाँच वटामा छानविन चलिरहेको छ भने सरावल गाउँपालिका विरुद्ध २३ वटा उजुरी परेकोमा ११ वटा फछ्यौट भई १२ वटामा छानविन भईरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, यातायात व्यवस्था सेवा कार्यालय परासीका प्रमुख मुक्ति पाण्डे,ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक फलबहादुर तामाङ लगायतले आआफ्नो कार्यालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिनुभएको संस्थाका सचिव रमेश भुसालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस