२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

भूमि पीडितको समस्या समाधान गर्ने गरि सरकारले काम थालेको छ : मन्त्री अधिकारी

२०८० चैत्र १४, बुधबार प्रकाशित ( महिना अघि) ३२५ पाठक संख्या

मोहन पौडेल
परासी, १४ चैत । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने गरि सरकार अघि बढेको बताउनुभएको छ । नयाँ गठबन्धनको सरकार बनेसँगै जनतामा आशा र विश्वास थपिएकोले वर्तमान सरकारले नागरिकको विश्वास जित्ने गरि काम गर्ने बताउनुभयो ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आज आयोजना गरेको अन्तरक्रियामा मन्त्री अधिकारीले भूमि समस्या समाधान गर्न कतिपय कुरा कानूनले नै छेकेको बताउँदै उहाँले कानून सुधार र नयाँ तीन वटा कानून निर्माणको कार्यसमेत थालनी गरिएको जानकारी दिनुभयो ।
गूठि, सहकारी तथा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सम्बन्धी समस्यालाई मध्यनजर गर्दै चैत महिना भित्रै नयाँ भूमि आयोग गठन गर्न लागिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूमि सम्बन्धी समस्या समाधानका लागि कतिपय कानूनले नै छेकेको छ, त्यसलाई सुधार गर्न हामीले नयाँ कानून निर्माण गर्ने प्रक्रिया अगाडि बढाएका छौँ, गूठि सम्बन्धी जटिल समस्या छ,, अहिले सहकारी पनि समस्याको रुपमा थपिएको छ र भूमिहीनको समस्या समाधान गर्न छुट्टाछुट्टै तीन वटा विद्ययेक संसदमा लैजाने तयारी छ ।”
नयाँ कानुन निर्माण हुन केही समय लाग्ने भएकोले वर्तमान कानून बमोजिम गर्न सकिने कामहरु पनि अघि बढिसकेको मन्त्री अधिकारीको भनाई थियो। आफूले कार्यभार सम्हालेपछि गुठि आन्दोलनकारीसँग दुई बुँदे र सहकारी पीडित आन्दोलनकारीसँग वार्ता गरि आठ बुँदे सहमति गरिएको बताउँदै मन्त्री अधिकारीले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न नयाँ आयोग गठनको लागि प्रक्रिया अघि बढिसकेको उल्लेख गर्नुभयो । आयोग गठनका लागि गठन आदेश अन्तिम चरणमा रहेको र चैत महिना भित्रै केन्द्र र जिल्ला स्तरका आयोगहरु बनिसक्ने मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले नगर भित्रका भूमि सम्बन्धी समस्या समाधानका लागि धेरै कामहरु अघि बढिसकेको बताउनुभयो । आठ वटा वडामा जग्गाको निस्सा बाँडिएको,पाँच वटा वडामा फिल्ड बुकसमेत तयार भईसकेको,विगतका आयोगले थालेका काम पनि अन्तिम चरणमा रहेको तर कतिपय समस्याहरु अझै समाधान हुन बाँकी रहेको नगर प्रमुख अर्यालले जानकारी दिनुभयो । नगरवासीले अहिलेको सरकारबाट ठूलो आशा गरेकोले यी समस्या समाधान गर्न सरकारले प्राथमिकता दिने विश्वास लिएको पनि उहाँले बताउनुभयो ।
सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवेले मन्त्री अधिकारी नवलपरासीको भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा भूमि सम्बन्धी समस्याहरुको बारेमा जानकार रहेकोले उहाँको कार्यकालमा भुमिका समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले पीडित नागरिकको समस्यालाई महत्वका साथ समाधान गर्न लाग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३०%१%

प्रतिक्रिया दिनुहोस