२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

महिलालाई स्वरोजगार बनाउन सौन्दर्य कला सीप सिकाउँदै घरेलु तथा साना उद्योग कार्यालय

२०८० चैत्र ७, बुधबार प्रकाशित ( महिना अघि) २८३ पाठक संख्या

परासी, ७ चैत । घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीले महिलाहरु स्वरोजगार बनाउन सीपमूलक तालिम प्रदान गरेको छ । कार्यालयले महिलालाई आयआर्जन र आत्मनिर्भर बनाउन सीपमूलक एडभान्स व्युटिपार्लर तालिम प्रदान गरेको हो ।
४५ दिनसम्म परासीमा सञ्चालन भएको उक्त तालिममा रामग्राम र पाल्हीनन्दनका २१ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमबाट प्राप्त गरेको सीपलाई उपयोग गरि अब महिलाहरुले आफ्नै उद्यम व्यवसाय गरि आयआर्जन गर्न सक्ने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले बताउनुभयो । व्युटिपार्लर तालिम जीवन उपयोगी सीप भएकोले कार्यालयले यस किसिमका तालिमलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
सीप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने बताउँदै प्रमुख पौडेलले सीपले मानिसलाई स्वरोजगार बनाउँदै आत्मनिर्भर बनाउने उल्लेख गर्नुभयो । विगतमा आधारभूत तहको तालिम प्राप्त गरेका महिलाहरलाई एडभान्स तालिम प्रदान गरिएकोले अब सहभागि सबै महिलाहरु आफ्नै व्यवसाय सञ्चालन गर्न सक्षम भएको उहाँको भनाई छ ।
तालिमको समापन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले महिलालाई आत्मनिर्भर बनाउन यस किसिमका तालिमहरु निकै प्रभावकारी हुने बताउनुभयो । रोजगारीको अभावमा महिलाहरु विदेशीनु परेको तथा विभिन्न शोषणमा पर्नुपरेको अवस्थालाई न्यूनीकरण गर्न व्युटिपार्लरको माध्यमबाट आयआर्जन गरि आत्मनिर्भर बन्न उत्प्रेरित गर्ने उहाँको भनाई थियो ।
तालिममा शेष कुमारी भट्टराई र संगिता ठटेरले प्रशिक्षण दिनुभएको कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले जानकारी दिनुभयो । तालिममा सहभागि प्रशिक्षार्थी महिलाहरु अस्मिता काफ्ले, सुनिता हरिजन लगायतले पनि तालिमबाट सिकेका सीपलाई उपयोग गरि आजआर्जनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस