२०८१ मंसिर ९, आईतबार
24 खबर अपडेट

नवलपरासी व्यापार मेला समापन, विकसित नवलपरासीका लागि सबै एक होऔँ : प्रधान

२०८० फागुन ३०, बुधबार प्रकाशित ( महिना अघि) १६६ पाठक संख्या

मोहन पौडेल
परासी, ३० फागुन । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानले विकसित नवलपरासीको लागि सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सञ्चालित छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको बुधबार साँझ आयोजित समापन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद प्रधानले जिल्लाका राजनीतिक दल र अगुवाहरु एक भएर आवाज उठाउन नसक्दा राज्यको पुनःसंरचनाको क्रममा त्रिवेणी धाम, मदारबाबा लगायतका महत्वपूर्ण स्थलहरु पश्चिम नवलपरासीले गुमाउनुपरेको बताउनुभयो ।
सांसद प्रधानले अहिले पनि यहाँका राजनीतिक दल र अन्य सरोकारवाला निकायहरु एक भएर आन्दोलन गर्न सके गुमाउनु परेका स्थलहरु फिर्ता ल्याउन र जिल्लाको विकासमा फड्को मार्न सकिने धारणा व्यक्त गर्नुभयो ।
सांसद प्रधानले सबैभन्दा बढी राजस्व उठ्ने पश्चिम नवलपरासीमा सबैभन्दा कम बजेट पर्ने गरेको बताउँदै विकसित नवलपरासीका लागि सरकारमा कुन दल छ भन्नु भन्दा पनि सबै दल एक भएर लाग्न नसक्नु नै कमजोरी रहेको उल्लेख गर्नुभयो । मुलुकको आर्थिक विकासमा यस जिल्लाका उद्योगी व्यवसायीको महत्वपूर्ण योगदान रहेपनि सरकारबाट अपेक्षित सम्मान प्राप्त नभएको उहाँको भनाई थियो ।
कार्यक्रममा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले जिल्लाका समस्याहरु पटकपटक सरकारका प्रतिनिधिहरुलाई राख्ने गरिएको तर छोटो समयमै सरकार परिवर्तन हुँदा उपलब्धी हासिल गर्न कठिन भईरहेको तर निराश भईहाल्नुपर्ने अवस्था भने नरहेको दाबी गर्नुभयो । जिल्लाको विकास र यहाँका समस्या समाधानका लागि पार्टी भन्दा माथि उठेर सबै एक भएर अघि बढ्नुपर्ने नेता कँडेलले जोड दिनुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउन छैठौँ पटक व्यापार मेला सञ्चालन गरिएको बताउनुभयो । उहाँले यस मेलाको माध्यमबाट जिल्लाको कृषि, पर्यटन, उद्योग व्यापार क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै मेला सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा गत फागुन १६ देखि शुरु भएको मेला बुधबार पन्ध्रौँ दिनमा समापन भएको हो । संघका अध्यक्ष अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, नेपाली कांग्रेस नवलपरासीका उपसभापति विक्रम यादव, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पुरन चौधरी, नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी लगायतले शुभकामना व्यक्त गर्नुभएको संघकी महासचिव तारा आचार्यले जानकारी दिनुभयो । उक्त अवसरमा मेला सफल बनाउन सहयोग गर्ने व्यक्ति, संस्था तथा निकायलाई सम्मान पनि गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस