२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अत्रहटीको शिवमन्दिरमा खेलकुद र विविध सांस्कृतिक कार्यक्रमसहित ५० औँ महाशिवरात्री मेलाको तयारी

२०८० फागुन १८, शुक्रबार प्रकाशित ( महिना अघि) २२८ पाठक संख्या

मोहन पौडेल
परासी, १८ फागुन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.२ अत्रहटीस्थित शिवालय मन्दिरमा महाशिवरात्री मेलाको स्वर्ण महोत्सव विविध कार्यक्रमका साथ भव्य रुपमा मनाईने भएको छ । महाशिवरात्रीको अवसरमा यस क्षेत्रमा लाग्ने मेला यस वर्ष पचास वर्षमा प्रवेश गरेकोले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथ मेला सञ्चालन गर्न लागिएको बताईएको छ ।
यही फागुन २४ देखि २७ गतेसम्म मन्दिर परिसरमा यस क्षेत्रकै ठूलो महाशिवरात्रीको मेला सञ्चालन गर्न लागिएको मेला व्यवस्थापन मूल समारोह समितिका अध्यक्ष देवानन्द चौधरीले जानकारी दिनुभयो । करिब डेढ सय वर्ष पूरानो यो मन्दिरमा महाशिवरात्रीको अवसरमा लाग्दै आएको यो मेला यस क्षेत्रकै सबैभन्दा पूरानो मेला रहेको समितिको दाबी छ ।
विगतदेखि नै भलिबल प्रतियिोगिता र सांस्कृतिक कार्यक्रमका साथ मेला सञ्चालन हुँदै आएकोमा यस पटक लोपोन्मुख कबड्डी प्रतियोगिता पनि आयोजना हुने अध्यक्ष चौधरीले बताउनुभयो । स्थानीय कला संस्कृति झल्कने नाच एवं राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुतीले मेलालाई थप रौनक थप्ने उहाँको भनाई छ ।
मेलाको तयारी तीव्र रुपमा भईरहेको समितिका सल्लाहकार प्रकाश भट्टराईले जानकारी दिनुभयो । मन्दिर अगाडि रहेको पोखरीमा डुंगा शयर, बाल उद्यानका सामग्रीसहित मेलालाई थप आकर्षक र व्यवस्थित गर्ने प्रयास गरिएको भट्टराईले बताउनुभयो ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले अत्रहटीमा रहेको ऐतिहासिक शिव मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि सञ्चालन हुन लागेको मेलालाई सफल बनाउन गाउँपालिकाले विशेष सहयोग गरेको बताउनुभयो । मन्दिरसँगै रहेको पोखरी संरक्षण र व्यवस्थित गर्न तथा मन्दिर क्षेत्रमा विभिन्न भौतिक पूर्वाधर निर्माण गर्न पनि गाउँपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले पालिका भित्रका संस्कृति र सम्पदा संरक्षण गर्ने उद्देश्यले माथिल्लो भेगमा थारु सांस्कृतिक पार्क र दक्षिणी क्षेत्रमा मधेस सांस्कृतिक पार्क निर्माण गरि मधेस महोत्सव सञ्चालनको तयारीमा रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

सरावल २ का वडा अध्यक्ष शम्भु चौधरीले यो मन्दिर निकै पूरानो रहेको बताउनुभयो । मन्दिरमा १९३७ उल्लेख गरिएको घण्ट रहेको बताउँदै २०१८ सालमा मन्दिरको पुनःनिर्माण गरिएको र यस क्षेत्रको आस्थाको केन्द्र रहेको बताउनुभयो । मन्दिरमा धुनी निर्माणका लागि वडाबाट रु नौ लाख विनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति पनि निर्माण गरि तयारी गरिरहेको मेला व्यवस्थापन समितिका सचिव दामोदर देवकोटाले जानकारी दिनुभयो । मेलामा यस क्षेत्रका हजारौँ दर्शनार्थीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । अत्रहटी शिव मन्दिरको प्रवद्र्धन र स्थानीय संस्कृतिको संरक्षणमा मेलाले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको सचिव देवकोटाको भनाई छ ।

Atr 2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस