२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

अर्थतन्त्र सुधारोन्मुख छ,व्याजदर एकल विन्दुमा झर्छ : अर्थमन्त्री महत

२०८० फागुन १६, बुधबार प्रकाशित ( महिना अघि) २०९ पाठक संख्या

मोहन पौडेल
परासी, १६ फागुन । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सुधारतर्फ उन्मुख रहेको दाबी गर्नुभएको छ । उहाँले व्याजदर पनि अब एकल विन्दुमा झर्ने बताउनुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आजदेखि शुरु भएको छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले भन्नुभयो, “अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको छ, व्याजदर पनि घटेर ११ को हाराहारीमा पुगेको छ, अव केही समयपछि एकलविन्दुमा झर्छ ।”
अर्थतन्त्र सुधार गर्न सरकार लागिपरहेको बताउँदै अर्थमन्त्री महतले विचार पुर्याएर लगानी गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारको तर्फबाट म आह्वान गर्न चाहन्छु,अब आत्मविश्वास बढाऔँ, अर्थतन्त्र अघि बढ्छ, अरुको देखासिकी भन्दा पनि विचार पुर्याएर लगानी गरौँ, त्यो भएमा उत्पादन र रोजगारी बढ्छ,राजस्व पनि बढ्छ,राजस्व बढेपछि राज्यको पनि लगानी गर्ने क्षमता बढ्छ ।”
अर्थमन्त्री महतले अहिले राजस्व पनि दश प्रतिशतले बढेको उल्लेख गर्नुभयो । कोभिड पछि अहिले सबैभन्दा धेरै पर्यटक नेपालमा आएको बताउँदै मन्त्री महतले बैकमा तरलता रहेपनि अहिले लगानी भने अपेक्षाकृत नभएको स्वीकार गर्नुभयो ।
अर्थमन्त्री महतले पश्चिम नवलपरासीकै ठूलो महेशपुर भन्सारमा एक्जिम कोड, क्वारेन्टाईन लगायतका पूर्वाधारको लागि पहल गर्ने आश्वासन दिनुभएको छ । उहाँले महेशपुरदेखि परासीहुँदै सुनवलको सडकलाई चारलेनमा विस्तारमा भईरहेको ढिलासुस्ती समाधान गर्ने,ओझेलमा रहेको रामग्राम स्तूपको उचित विकास गरि विश्वमाझ चिनाउन पहल गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जिल्लाको आर्थिक विकासमा देखिएका समस्याहरु समाधान गर्न अर्थमन्त्री महतको ध्यानाकर्षण गराउनुभएको थियो । अध्यक्ष अग्रहरीले महेशपुर भन्सारमा एक्जिम कोड, क्वारेन्टाईन नहुँदा आयतमा समस्या भोग्नुपरेको, मेहशपुरदेखि परासीसम्मको औद्योगिक करिडोर सडक निर्माण यथाशिघ्र निर्माण गर्नुपर्ने,विगतमा तरलताका कारण धरासायी बनेको उद्यँोग व्यवसाय क्षेत्रलाई राहत घोषणा गर्नुपर्ने, व्याजदर एकल विन्दुमा झार्नुपर्ने तथा रामग्राम स्तूप, पण्डितपुर लगायतका क्षेत्रको उचित विकासमा जोड दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवप्रसाद भण्डारी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, नेपाल पत्रकार महासंघका जिल्ला सचिव राजकुमार रेश्मी,नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज पाण्डे लगायतले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको नवलपरासी उद्योग वाणिज्य संघकी महासचिव तारा आचार्यले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस