२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

आजदेखि परासीमा औद्योगिक व्यापार मेला, अर्थमन्त्री महतले उद्घाटन गर्ने

२०८० फागुन १६, बुधबार प्रकाशित ( महिना अघि) २३१ पाठक संख्या

परासी, १६ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आज फागुन १६ देखि छैठौँ नवलपरासी औद्योगिक व्यापार मेला शुरु हुँदैछ । नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन ३० गतेसम्म सञ्चालन हुन लागेको उक्त मेलाको आज दिउँसो नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गर्ने कार्यक्रम छ ।
रामग्राम–५ वाईपास रोड छेउमा सञ्चालन हुने मेलाको सम्पूर्ण पूर्व तयारी सकिएको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो । मेला स्थल झकिझकाउ बनाईएको छ भने नगरका विभिन्न स्थानमा स्वागतद्धार पनि निर्माण गरिएको छ । दिउँसो १ बजे अर्थमन्त्री महतले मेलाको औपचारिक रुपमा उद्घाटन गर्ने अध्यक्ष अग्रहरीले बताउनुभयो ।
उद्घाटन अघि परासीको आदर्श माविबाट बिहान ११ बजे विभिन्न जातजाती, धार्र्मिक संस्था तथा अन्य सामाजिक संघ संस्थाको व्यानर,झाँकी र बाजागाजासहित नगर परिक्रममा गर्ने कार्यक्रम रहेको अध्यक्ष अग्रहरीले जानकारी दिनुभयो ।
व्यापार मेलाको आकर्षणको रुपमा मूल प्रवेशद्धार परासी बुद्धचोकको आकृतिमा निर्माण गरिएको छ भने रामग्राम स्तूप र पाल्ही मन्दिरको प्रवद्र्धनका लागि मेला परिसरमै आकृति निर्माण गरिएको संघका उपाध्यक्ष गिरीराज पाण्डेले बताउनुभयो । मेला सचिवालय पनि संघको भवनकै झल्को दिने गरि बनाईएको छ । सेल्फी जोन, कृषि जोन, बाल उद्यानका छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको छ । कृषि, घरेलु तथा लघु उद्यमीका उत्पादनसहित जिल्लामा रहेका उद्योगका उत्पादनको प्रवद्र्धन हुने गरि स्टलहरुलाई प्राथमिकता दिएको उपाध्यक्ष पाण्डेले बताउनुभयो ।
करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिईएको यस मेलामा रु पाँच करोड दश लाखसम्म आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका कोषाध्यक्ष भोला पराजुलीले जानकारी दिनुभयो । औद्योगिक व्यापार मेलामा यस पटक स्थानीय उत्पादन, कृषि, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको संघका महासचिव तारा आचार्यले बताउनुभयो ।
मेलाको आकर्षणको रुपमा परम्परागत तथा जिल्लाको संस्कृति झल्कने गरि विभिन्न जातजातीको भेषभुषासहितको झाँकी प्रदर्शनी,ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमहरु,नवलपरासीका स्थानीय तह स्तरीय सांस्कृतिक प्रतियोगिता,जिल्लामा रहेका कृषि उपज,लघु उद्यमी, महिला उद्यमी द्धारा उत्पादित वस्तुहरुको प्रदर्शनी, यस क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरुको चिनारीसहितको प्रवद्र्धन लगायत रहने संघकी महासचिव आचार्यले बताउनुभयो ।
मेला अवलोकनका लागि टिकटदर रु १०० निर्धारण गरिएको छ भने विद्यार्थीलाई परिचय पत्रका आधारमा रु ७० र विद्यालयबाट सामूहिक आएमा रु ५० का दरले निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक, असक्त तथा फरक क्षमता भएकाहरुलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको कोषाध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस