२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

नवलपरासी औद्योगिक व्यापार मेला सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता

२०८० फागुन १५, मंगलबार प्रकाशित ( महिना अघि) २२१ पाठक संख्या

परासी, १५ फागुन । भोली फागुन १६ देखि सदरमुकाम परासीमा शुरु हुन लागेको छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलालाई सफल पार्न आआफ्नो क्षेत्रबाट सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा सोमबार आयोजित छलफल तथा बैठकमा सहभागि सरोकारवाला निकायका प्रतिनिधिहरुले मेलालाई सबै क्षेत्रबाट सहयोग गर्ने बताएका हुन ।
उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले मेलाको तयारी करिक सकिएको जानकारी दिँदै सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखेको बताउनुभएको थियो । उहाँले स्थानीय तह, सुरक्षा निकाय, संघका सल्लाहकार तथा पूर्व अध्यक्षहरु लगायतबाट मेला सफल बनाउन आवश्यक सहयोग, सुझाव, सल्लाहको अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले यो मेलाले समग्र नवलपरासीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलाको माध्यमबाट यस क्षेत्रको सम्भावनालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउँदै उहाँले आर्थिक चलायमान बढाउन मेला सहयोगी सावित हुने बताउनुभयो । उहाँले मेला सफल बनाउन आफ्नो तर्फबाट सहयोग रहने उल्लेख गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले परासीमा सञ्चालन हुन लागेको मेलालाई सफल बनाउनु सबैको दायित्व भएको बताउनुभयो । उहाँले मेलाले स्थानीय उत्पादन, स्थानीय प्रतिभा, कला संस्कृतिको प्रवद्र्धन र जर्गेनामा जोड दिनुपर्ने बताउनुभयो ।
रामग्राम नगरापलिकका प्रमुख धनपत यादवले मेला सफल बनाउन नगरपालिकाको पूर्ण साथ रहेको बताउनुभयो । उहाँले उद्योग वाणिज्य संघले यस क्षेत्रको समग्र आर्थिक विकाससँग जोडिएका विषयलाई मूख्य एजेण्डा बनाएर अघि बढ्न आग्रह गर्दै मेला सफल बनाउने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आग्रह गर्दै सुरक्षा व्यवस्था मिलाइने बताउनुभयो । मेलामा मादक पदार्थ जन्य वस्तुको विक्री वितरणमा निषेध गर्न र राती नौ बजेसम्म मात्र मेला सञ्चालन गर्न उहाँले जोड दिनुभयो ।
सुनवल नगरपालिकाका पूर्व मेयर एवंं संघका पूर्व अध्यक्ष भीमबहादुर थापाले यो मेला सबै जिल्लावासीको गौरव भएकोले यसले स्थानीय उत्पादनको प्रवद्र्धनलाई विशेष जोड दिनुपर्ने बताउनुभयो । जिल्लाको पर्यटनको सम्भावना, यहाँका उद्योगले उत्पादन गरेको वस्तुको प्रचारप्रसार, स्थानीय कलाकारको प्रतिभा पहिचानका लागि मेला कोसे ढुंगा सावित हुनेमा विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । मेलामा सहभागि अन्य सुरक्षा निकायका प्रमुखहरु तथा सरोकारवालाहरुले पनि मेलालाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको संघकी महासचिव तारा आचार्यले बताउनुभयो ।
रामग्राम ५ वाईपास रोड नजिकै सञ्चालन हुन लागेको मेलाको भोली फागुन १६ गते दिउँसो १ बजे नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस